
दाङ । दाङमा गएराती चट्याङ लाग्दा गोठमा बाँधिएका सबै पशुचौपाया मरेपछि पीडामा रहेको एक परिवारलाई सहयोग गर्ने क्रम सुरु भएकोे छ ।
तुलसीपुर उपमहानगरपालिका–७ घुसेरी निवासी सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका थिए ।
यस्तै घटनामा घाइते भएको अर्को एक गाभिनो भैँसी पनि मरेको छ भने गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । पशुपालन र कृषि कर्म गरेर जिविकोपार्जन गर्दे आएको पौडेल परिवार सबै पशुचौपाया मरेपछि अहिले अहिले झनै चिन्तामा रहेको छ ।
गएरातीको चट्याङका कारण पशुचौपाया मरेर पिडामा रहेको जानकारी पाएलगत्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दुधेना निवासी समाजसेवी केशव सापकोटाले आज पीडित पौडेल परिवारको घरमै पुगेर सहयोग स्वरूप १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
समस्या परेका बेला गरिने सहयोग नै मानवीय धर्म रहेको भन्दै पीडामा रहेको पौडेल परिवारलाई पुनः पशुपालन व्यवसायमा फर्काउन आफूले सहयोग गरेको सापकोटाले बताउनुभयो । उहाँले आफूले हस्तान्तरण गरेको सहयोग रकमबाट जिलो जोरेर फेरि पशुपालन व्यवसायमा सक्रिय हुन समेत सो परिवारलाई आग्रह गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले गएरातिको घटनाबाट आफू स्तब्ध भएको बताउनुभयो । किसानको समस्यामा आफू संगसंगै रहेको र स्थानीय सरकारको तर्फबाट हुने सहयोगमा कुनै कञ्जुस्याइँ नहुने बताउनुभयो ।

प्राकृतिक विपत्तिले समस्या परेको पौडेल परिवारलाई नगद सहयोग गरी समाजमा सकारात्मक सन्देश दिएकोमा समाजसेवी सापकोटालाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै सबैलाई सक्दो सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का सदस्य शोभाराम भण्डारी, लायन्स क्लब दाङका अध्यक्ष गोरख वली, पत्रकार बसन्त पौडेल, पौडेल वंश महासंघ तुलसीपुरका सचिव टिकाकुमारी पौडेललगायतको सहभागिता रहेको थियो ।
आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगो आज बिहान करिब साढे २ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।