२०८२ पुष २९ गते मङ्गलवार

स्थानीय स्रोतबाट समृद्धि सम्भव : पाण्डे

दाङ । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय स्रोत र सामाग्रीको प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

तुलसीपुरमा सामुदायिक वनका पदाधिकारीलाई लक्षित गरी आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले थाकलको झोला, काँसको कलमदानी, बाँसको चुरीदानी, माटोको गिलासजस्ता सामग्रीको प्रयोगले स्थानीय अर्थतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो ।

वन विज्ञ समेत रहनुभएका निवर्तमान नगरप्रमुख पाण्डेले वन ऐन २०७४ ले सामुदायिक वनमा अधिकार सुनिश्चित गरेको बताउँदै महिलाको नेतृत्वमा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो ।

स्वदेशी उत्पादन र स्रोतको अधिकतम उपयोगमार्फत हरित अर्थतन्त्रलाई टेवा दिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रम वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा भएको हो ।

सामुदायिक वनलाई उद्यमशीलता र हरित अर्थतन्त्रसँग जोड्ने उद्देश्य राखिएको कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरूलाई दीर्घकालीन सोच र व्यवहारिक नीति निर्माणमा ध्यान दिन सुझाव प्रदान गरिएको छ ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष उपेन्द्र बस्नेत, वडा नं. ६ की सदस्य देवी पोख्रेल लगायतले सामुदायिक वनको दीगो र समृद्ध प्रयोगका लागि नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राख्नुभयो ।

लुम्बिनी प्रदेश सामुदायिक वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले सामुदायिक वनको स्रोत परिचालन, वातावरणीय अनुकूलता र आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तुलसीपुर वडा नं. १६ र १७ मा वनको संख्या कम भए पनि वातावरण अनुकूल भएकाले सम्भावना धेरै रहेको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कच्चा पदार्थ प्रयोग गरिएका हस्तनिर्मित सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो । कार्यक्रमको सहजीकरण शाखा प्रमुख रमा खड्काले गर्नुभएको हो । उहाँले सामुदायिक वन पदाधिकारीहरूलाई उद्यमशीलता र वातावरणीय उत्तरदायित्वको संयोजनमा काम गर्न प्रेरित गर्नुभयो ।

कार्यक्रम सामुदायिक वन संरक्षणसँगै स्थानीय आयआर्जन र स्वदेशी उत्पादनको प्रवद्र्धनमा केन्द्रित रहेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस