२०८२ माघ २५ गते आइतवार

रुकुम सल्लेमा ४० जनाको आँखाको सफल शल्यक्रिया


दाङ, २२ असार । नेपाल नेत्रज्योति संघ, रुकुम सर्जिकल उपचार केन्द्र सल्ले रुकुम पश्चिममा सञ्चालन गरिएको नियमित शल्यक्रिया सेवाबाट ४० जनाको आँखाको सफल शल्यक्रिया गरिएको छ ।

शल्यक्रियामा सहभागी भएका मध्ये ३९ जनाको फेको प्रविधिबाट र एकजनाको एसआइसिएस प्रविधिबाट आँखाको शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ । शल्यक्रिया सेवा नेपाल नेत्रज्योति संघअन्तर्गत राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक टोलीले प्रदान गरेको हो ।

टोलीको नेतृत्व राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा सहायक प्राध्यापक जलविन्दु रोग विशेषज्ञ डा. रन्जित कुमार साहले गर्नुभएको हो । शल्यक्रिया कार्यक्रममा डा. साहसहित राप्ती आँखा अस्पतालका अनुभवी अप्टोमेट्रिस्ट, नर्स, टेक्निसियन तथा अन्य स्वास्थ्यकर्मीहरूको टोली सक्रिय रूपमा संलग्न रहेको थियो ।

रुकुम पश्चिमको दुर्गम क्षेत्रमा रहेका दृष्टिविहीन तथा दृष्टिमा समस्या भोगिरहेका नागरिकहरूलाई लक्षित गरी सेवा उपलब्ध गराइएको हो । आँखा समस्याका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका स्थानीय नागरिहरूले शल्यक्रियापछि दृष्टि पाउँदा अत्यन्तै खुसी व्यक्त गरेका छन् ।

नेपाल नेत्रज्योति संघका अनुसार भविष्यमा पनि ग्रामीण तथा दुर्गम भेगमा यस्ता सेवा निरन्तर सञ्चालन गरिनेछ । दृष्टि गुमाउँदै गरेका नागरिकहरूको जीवनशैली सहज बनाउन शल्यक्रिया सेवा निकै प्रभावकारी भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस