दाङ । दाङमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम भएको छ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियानको सहकार्यमा लमहीमा कार्यक्रम भएको हो ।
साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता तथा जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि देउखुरी बहुमुखी क्याम्पसका उप प्राध्यापक एवम् मञ्चका सल्लाहकार हरेकृष्ण ज्ञवालीले सम्पूर्ण वाचित/समीक्षित रचनाहरुको समालोचना गर्नु भएको थियो । यसप्रकारको कार्यक्रमले स्तरिय रचना लेखनमा सहयोग पुग्ने र आफ्ना वा अरुका रचनामा समीक्षा गर्ने क्षमताको बिकास हुने बताउनुभयो ।
प्रमुख अतिथि योगीले यस्ता कार्यक्रमले स्रष्टाहरुलाई साहित्य लेखनमा आत्मनिर्भर र बलियो बनाउने बताउनुभयो । स्रष्टाहरु बलियो भए संस्था बलियो हुने उहाँको भनाई छ ।
कार्यक्रममा दुई सत्रमा संचालन भएको थियो । पहिलो सत्रमा स्थापित गजलकार तुलसीपुरका सुरेश सुमन डाँगीले दर्जनबढी गजल सनाउनुभएको थियो । वाचित गजलहरुको थारु भाषा तथा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिलाले समीक्षा गर्नु भएको होे ।
दोस्रो चरणमा पाँचजना कविहरुले कविता बाचन गरेका थिए । सोही बमोजिम बिजया पोख्रेलद्वारा प्रस्तुत कविताको श्रवण नेपालीले, जीवराज शर्माद्वारा प्रस्तुत कविताको गुरुप्रसाद कुमाल ‘बुलबुल’ले, सञ्जना शर्माद्वारा प्रस्तुत कविताको बिजया पोख्रेलले, श्रवण नेपालीद्वारा प्रस्तुत कविताको जीवराज शर्माले र गुरुप्रसाद कुमाल ‘बुलबुल’द्वारा प्रस्तुत कविताको सञ्जना शर्माले समीक्षा गर्नु भएको थियो ।
दुबै सत्रमा सम्पन्न कार्यक्रमको समालोचनासमेत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु सुजाता शाही, सूर्यराज गौतम, अर्जुन शर, रेशम बिसी, भवन निर्माण सहयोगदाता बिष्णुप्रसाद घिमिरे, दामोदर पाण्डे, शशिधर ज्ञवाली, गिरिराज खनाल, प्रेमा जीसी, रामरुपनी स्मृति साहित्य पुरस्कारका संस्थापक रामप्रसाद चौधरी, धर्मराज शर्मा ‘बैरागी’ लगायतले रचना वाचन गर्नुभएको थियो ।
युवा साहित्यकार केशब दिपक शर्माले समग्र कार्यक्रमको टिप्पणी प्रस्तुत गर्नुभयको थियो भने पहिलो चरणको गुरुप्रसाद कुमाल ‘बुलबुल’ र दोस्रो चरणको कार्यक्रम सचिव बालमुकुन्द आचार्यले सञ्चालन गर्नु भएको थियो ।















