२०८३ बैशाख ४ गते शुक्रवार

तुलसीपुर–१२ कचिलामा नयाँ खोप केन्द्रको उद्घाटन


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलामा नव निर्मित खोप केन्द्र भवनको उद्घाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष कृष्ण चौधरीको अध्यक्षता तथा वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यताका भवनको उद्घाटन भएको हो ।

प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले स्वास्थ्य सेवामा नागरिकहरुको सहज पहुँचको लागि खोप केन्द्र निर्माण गरेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गरिएका प्रतिबद्धता पूरा गर्दै खोप केन्द्रको भवन निर्माण गरिएको बताउनुभयो । खोप केन्द्रको भवन नहुँदा स्वास्थ्यकर्मीहरूलाई असहज हुने, सुत्केरी तथा गर्भवती महिलाहरूलाई समस्या हुर्ने अवस्था अब अन्त्य भएको उहाँको भनाई छ । आफ्‌नै खोप केन्द्र नहुँदा नागरिकले घाम, पानीको हैरानी व्यहोर्नुपर्ने अबस्थाको अन्त्य भएको छ । वडाको बजेटबाट करिब २ लाख ६० हजार रुपैयाँको लागतमा दुई कोठे पक्की भवन निर्माण भएको छ ।

हरिपौरी स्वास्थ्य केन्द्रका इन्चार्ज मोहनकुमार शर्माले भवन निर्माणसँगै खोप सेवा सञ्चालन गर्न सहज हुने बताउनुभयो । पहिले आफ्‌नो भवन नहुँदा भूह्यारथानको भवनबाट एक वर्ष सेवा दिएको जानकारी दिनुभयो । अरुको भवनबाट सेवा दिदा विभिन्न समस्याहरु झलेको उहाँको भनाई छ । अब आफ्‌नो भवनबाट सेवा दिन पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो ।

तुलसीपुर १२ मा चार वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् । हाल कचिला, हरिपौरा, क्वांगी र टरीगाउँ गरी चारवटा खोप क्लिनिक सञ्चालनमा छन् । अहिलेको नयाँ भवनबाट शीतलपुर, कचिला, कचिली र बाह्र बिघाका नागरिकहरू लाभान्वित हुने शर्माको भनाइ छ । खोप केन्द्रबाट गाउँघर क्लिनिक हरेक महिनाको १० गते, खोप क्लिनिक १९ गते नियमित संचालन हुने उहाँले जानकारी दिनुभयो ।

भवन उद्घाटन कार्यक्रममा वडाका सचिव गणेश कुमार आचार्य, उरहरी स्वास्थ्य चौकीका इन्चार्ज चित्रबहादुर ओली, जसपुर प्रहरी चौकीका इन्चार्ज एक बहादुर खड्का, उरहरी स्वास्थ्य चौकीका सिनियर अनमी विष्णु ओली, हेमनगर आधारभुत स्वास्थ्य केन्द्रका रेश्मी बस्नेत, कचिलाका महतौ डिल्ली बहादुर थारु,समाजसेवी भरत गिरी, पदम वैद्य, सुरेन्द्र गिरी, हरियाली टोल विकास संस्थाका अध्यक्ष काशीराम नेपाली लगायतले स्थानीय स्तरमा खोप केन्द्र स्थापना भएपछि नागरिकलाई सहज हुने बताएका छन् । गाँउघरमा सेवा हुँदा नागरिकहरुलाई नियमित खोप कार्यक्रममा सहज हुने बताएका थिए ।

कार्यक्रमको सहजीकरण उरहरी स्वास्थ्य चौकीका सिनियर अहेव खडकबहादुर बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस