दाङ । युवा व्यवसायी समाजसेवी सन्दिप भुषालले तुलसीपुर–१ भ्यूडहर सुनपुरमा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । तुलसीपुर नगर जेसिसका अध्यक्ष समेत रहनुभएका भुषालले विद्यालयको ६५औँ वार्षिकोत्सवको अवसरमा १ लाख १ हजार १११ रुपैँयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।
समाजसेवी भुसालले आफ्नो स्वर्गीय पिता सूर्यप्रकाश भुसाल र हाल सोहि विद्यालयमा कार्यरत आमा लक्ष्मी भुसालको नाममा गरिब, जेहनदार, टुहुरा विद्यार्थीहरुहरूको पढाइमा थप सहायता प्रदान गर्नको लागि सूर्य–लक्ष्मी नामको अक्षयकोष स्थापना गर्नुभएको हो ।
कार्यक्रममा अक्षयकोष स्थापनाको लागि भुसाल परिवारले विद्यालयलाई घोषित रकमको चेक हस्तान्तरण गरेको हो । समाजसेवी सन्दिप भुसालले आफ्नो स्वर्गीय बुबा सूर्यप्रकाश भुसालको सम्बन्ध विद्यालयसँग गाँसिएको र हाल त्यस विद्यालयमा कार्यरत शिक्षक आमा लक्ष्मी भुसाल पनि विद्यालयसँगै हातेमालो गर्दै आएकाले विद्यालयको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले अक्षयकोषबाट प्राप्त व्याज रकमले विद्यार्थीहरूको पढाइको विकासका लागि थप सहायता हुने भएकाले सामाजिक उत्तरदायित्य अन्तर्गत आफूले कमाएको केही रकमबाट उक्त अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीले अक्षयकोष स्थापना गर्ने भुषाल परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । विद्यालयमा भुषाल परिवारले स्थापना गरेको अक्षयकोषसँगै हाल १० ओटा अक्षयकोष स्थापना भएका छन् । हरेक वर्ष उक्त अक्षयकोषको ब्याज रकमबाट अक्षयकोषको कार्यविधिअनुसार कक्षा शिशुदेखि कक्षा १२ सम्म अध्यननरत विद्यार्थीहरूलाई प्रमाणपत्र, शैक्षिक सामग्री र नगद रकमले वार्षिकोत्सवको अवसरमा सम्मानसमेत गरिदै आएको छ ।














