२०८२ माघ ८ गते बिहिवार

तुलसीपुर महोत्सव : चिसो सिरेटोमा सङ्गीतको राप, बद्री र टिकाको प्रस्तुतिमा झुमे दर्शक


दाङ । आज दिनभरजसो दाङको तुलसीपुरमा बाक्लो हुस्सु र कठ्याङ्ग्रिने चिसोको साम्राज्य थियो । पुसको सिरेटोले जनजीवन प्रभावित पारिरहेको बेला प्रथम तुलसीपुर महोत्सवमा भने दर्शकलाई चिसोको कुनै प्रवाह थिएन । चिसोको कुनै प्रवाह नगरी हजारौँको संख्यामा ओर्लिएका दर्शकहरूले मौसमको प्रतिकूलतालाई सङ्गीतको न्यानोपनले बिर्सिदिए ।

जब लोक सङ्गीतका नक्षत्र बद्री पंगेनी र लोकदोहोरीकी ’क्विन’ टिका सानुले स्टेज सम्हाल्नुभयो, तब चिसोले कठाङ्ग्रिएको भीड एकाएक तात्यो । बद्री पंगेनीको सशक्त स्वर र टिका सानुको जादुमयी प्रस्तुतिमा दर्शकहरू यसरी झुमे कि उनीहरूलाई समय र मौसमको कुनै ख्यालै रहेन ।

उनीहरूसँगै गायक एमटी महरले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिलाउनुभयो । साँझ ६ बजिसक्दा र अँध्यारोले छोइसक्दा पनि महोत्सवस्थलमा दर्शकको उपस्थिति अलिकति पनि पातलिएको थिएन । बरु भीड झन्‌–झन् बढ्दै गएको देखिन्थ्यो ।

बाक्लो हुस्सुलाई चिर्दै गुञ्जिरहेका लोक धुनहरू र दर्शकको हुटिङले पूरा तुलसीपुर क्षेत्र नै गुञ्जायमान बन्यो । चिसो मौसममा पनि कला र कलाकारप्रतिको यो अगाध प्रेमले महोत्सवलाई थप उचाईमा पुर्‍यायो । महोत्सवमा आज चर्चित हाँस्यव्यंग्य कलाकार कमल गाउँलेको पनि प्रस्तुति थियो । महोत्सवको १२ आँ दिनसम्म आइपुग्दा पनि दर्शकको सहभागीता उल्लेख्यरुपमा देखिएको छ ।

महोत्सवमा भोलि चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो । उहाँका गायिका मगरसंगै चर्चित गायक कमल बिसी ‘माल्दाई’, गायिका सम्झना रणपाल, बिमला भण्डारी लगायतका कलाकारको प्रस्तुति रहेन छ । यस्तै पर्सी चर्चित नायक पल शाह आउने आयोजकले जनाएको छ ।

आज पनि महोत्सवमा राखिएका स्टलहरूमा निकै भीड थियो । स्थानीय कृषि उपज, हस्तकलाका सामग्री र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले आज दैनिकरुपमा दर्शकको उपस्थिति निकै उत्साहजनक हुने गरेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालित यो महोत्सवले दाङको पर्यटन प्रवद्र्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । महोत्सव पुस १९ गतेसम्म संचालन हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस