२०८३ जेष्ठ १० गते आइतवार

दाङमा तीन प्रदेशका मटाँवा–बरघर तथा थारू अगुवा भेला हुँदै


दाङ । थारू समुदायको परम्परागत मटाँवा–बरघर–भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन हुने लागेको छ ।

मटाँवा बरघर भलमन्सा सङ्घ केन्द्रीय समितिको आयोजनामा आज सोमबारदेखि दङ्गीशरण गाउँपालिका–३, चखौरामा दुई दिने “थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम” हुन लागेको हो ।

सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासीलगायत जिल्लाबाट करिब एक हजारभन्दा बढी मटाँवा, बरघर, भलमन्सा तथा थारू अगुवाहरू सहभागी हुने मटाँवा बरघर भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थारू समुदायमा आदिमकालदेखि चलिआएको मटाँवा–बरघर–भलमन्सा प्रथा गाउँ समाज सञ्चालन गर्ने परम्परागत संरचना तथा अलिखित कानुनी अभ्यासका रूपमा स्थापित छ । जिल्ला अनुसार फरक नामले चिनिए पनि यसको उद्देश्य र भूमिका एउटै रहेको उहाँले बताउनुभयो ।

सङ्घका अनुसार सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुहुने छ । कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर, दाङले समन्वय तथा सहकार्य गरेका छन् ।

सम्मेलनमा थारू समुदायको आर्थिक सशक्तीकरण, प्रथाजनित कानुन, अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीति, थारू संस्कारको संरक्षण तथा प्रवर्धन, बालविवाहमुक्त अभियानमा मटाँवा–बरघरहरूको भूमिका लगायत विषयमा छलफल सत्र सञ्चालन हुने छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस