२०८३ जेष्ठ १० गते आइतवार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन ६ महिना लाग्ने


दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेको सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप ६ महिना लाग्ने भएको छ ।

हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप छ महिना समय लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको हो । ५६ करोड ८० लाख २४ हजार ६३० रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुनेगरी काम अघि बढेको उहाँले बताउनुभयो । सो आयोजनाअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइने छ ।

हालसम्म पानीका लागि नयाँ पाइप जडान, विभिन्न ठाउँमा एक दर्जन बढी ट्याङ्की निर्माणलगायत काम सम्पन्न भइसकेका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । तुलसीपुरमा एउटा भण्डारण ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । पुराना पाइपलाइनको मर्मत पनि सम्पन्न भइसकेका छन् ।

यो आयोजना पूरा भएपछि एक सय लिटरप्रति सेकेण्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जसले तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका–६ का विभिन्न गाउँलगायत क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने उहाँको भनाई छ ।

त्यसैगरी संस्थाले खानेपानीको प्रमुख मुहान रहेको क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा हुने अनधिकृत उत्खननलाई रोक्न तथा मुहानको संरक्षणका लागि पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार संस्थाले रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ ।

संस्थाले विभिन्न स्थानमा रहेका करिब १०० खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्ण रूपमा सुरक्षित बनाएको छ । जिआइएस प्रविधि तथा मोबाइल एप प्रणाली लागू गरेर सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यअघि बढाएको उपाध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा स्मार्ट मिटर जडान गरी उपभोक्तालाई पारदर्शी बिलिङ प्रणाली उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजार बढी जनसङ्ख्यालाई खानेपानीको सहज व्यवस्थापन गरिरहेको छ । बबई नदीको पानी लिफ्टिङ गरेर कहिले आउँछ भन्ने प्रतीक्षामा नागरिक छन् । बढ्दो गर्मीका कारण खानेपानीका मुहान सुक्न थालेपछि पानीवितरणमा समस्या भइरहेको छ ।

तुलसीपुर क्षेत्रका केही गाउँका धारामा पानी आउन छाडेपछि खानेपानी संस्थाले ट्याङ्रबाट बोकाएर दिनहुँ निःशुल्क पानी वितरण गर्दै आएको छ । संस्थाले यसअघि आगामी असार मसान्तसम्म उक्त आयोजना निर्माण सम्पन्न गरी पानी वितरण गरिने जानकारी गराए पनि अझै करिब छ महिना पानी वितरणका लागि समय लाग्न सक्ने जनाएको छ । रासस

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस