२०८३ जेष्ठ १० गते आइतवार

मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने


दाङ । दाङमा अब मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने भएको छ । नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सहजताका लागि घरबाटै उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेसँगै दाङमा पनि सेवा सुरु भएको हो ।

प्रविधिको प्रयोगका माध्यमबाट कुनै पनि घटना हुँदा प्रहरी कार्यालय टाढा भए वा समय नमिलेको अवस्थामा पीडितले नेपाल पुलिसको मोबाइल एपमार्फत् उजुरी दिन सक्ने व्यवस्था सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो सुविधा प्रयोग गर्न नागरिकले मोबाइलमा ‘नेपाल पुलिस एप’ डाउनलोड गर्नु पर्ने छ । एप डाउनलोड भएपछि साइन–अप गरी आफ्नो नाम, मोबाइल नम्बर, इमेल र ठेगाना भरेर पासवर्ड सेट गरेर एपमा लगइन गरेपछि उजुरी दिन सक्नेछन् ।

प्रमाणका लागि उजुरीकर्ताले फोटो, भिडिओ वा अडियोसमेत राखेर उजुरी सबमिट गर्न सक्ने व्यवस्था मोबाइल एपमा रहेको सूचना अधिकारी बोहराले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय दाङमा सेवा सुरु भएसँगै मोबाइल एपको प्रयोग गरेर तीन वटा उजुरी दर्ता भएका छन् । मोबाइल एपमार्फत् आउने उजुरीको प्रकृति हेरेर प्रहरीले आवश्यक कारबाही अघि बढाउने सूचना अधिकारी बोहराले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस