दाङ । तुलसीपुर उपमहानगरपालिकाभित्र दुई वटा ऐतिहासिक दरबार क्षेत्र रहेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ सुकौरामा दंगीशरण राजाको ऐतिहासिक सुकौराकोट दरबार क्षेत्र र वडा नंम्बर १९ छिल्लीकोटमा रहेको चल्ल वंशीय राजाको दरबार क्षेत्र प्रमुख हुन् । सुकौराकोट दरबार क्षेत्रमा पुरातत्व विभागद्वारा उत्खनन् कार्य सम्पन्न भइसकेको भए पनि छिल्लीकोट दरबार क्षेत्रमा भने उत्खनन् कार्य हुन बाँकी छ ।
छिल्लीकोट कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनका अनुसार दरबार क्षेत्रभित्र खन्ने क्रममा इँटा तथा झिङ्गटी फेला परेका छन् । दरबार क्षेत्रको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत जानकारीका लागि पुरातत्व विभागसँग पटक–पटक उत्खननको माग गरिएको उहाँले बताउनुभयो । उहाँले गढी संरक्षणका लागि नेपाली सेनाले समेत चासो देखाएको जानकारी दिनुभयो ।
तीनै तहका सरकारको सहयोगमा हाल दरबार क्षेत्रमा तारबार तथा पर्खाल निर्माण गरी संरक्षणको काम भइरहेको उहाँको भनाइ छ । अध्यक्ष पुनका अनुसार समितिले नै दरबार क्षेत्रको जगको अवस्थाबारे अध्ययन गर्ने र महत्त्वपूर्ण संरचनामा थप पूर्वाधार निर्माण नगर्ने निर्णय गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पनि पुरातत्व विभागलाई छिल्लीकोट दरबार क्षेत्रमा उत्खननका लागि आग्रह गरिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष प्रेमनाथ योगीले दरबार क्षेत्रको सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट स्थापना गरी वडा कार्यालयको समन्वयमा व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार छिल्लीकोट दरबार क्षेत्रको उत्खनन् भएपछि मात्र थप विकास निर्माणका काम अघि बढाउन सकिनेछ । छिल्लीकोटमा हाल राजाको अवशेषका रूपमा एउटा तोप मात्र रहेको छ ।


















