दाङ । दाङमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका–४ फोहोरामा बस्ने अन्दाजी ५५/५६ वर्षका भोला यादवको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
आज शनिबार दिउँसो पौनै २ बजेतिर यादवमाथि धारिलो हतियार प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
सोही ठाउँका अन्दाजी २२/२३ वर्षका ईच्छा कुमार रैदासले रामजानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरी प्रवक्ता तथा डिएसपी बोहोराले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । घटनापछि आरोपी ईच्छा कुमार रैदास फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।















