दाङ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत दाङका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल सङ्कलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रिया सुरु गरेका छन् । केन्द्रीय सर्कुलरअनुसार अनलाइन सेवालाई प्रोत्साहन गर्न भौतिक काउन्टर सेवा क्रमशः बन्द गर्न थालिएको हो ।
तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोका अनुसार पहिले सञ्चालनमा रहेका चारमध्ये एउटा काउन्टर बन्द गरी हाल तीनवटा मात्रै सञ्चालनमा राखिएको छ । विस्तारै सबै भौतिक काउन्टर बन्द गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्राहकलाई अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न सहज बनाउन कार्यालयमै हेल्प डेस्कको व्यवस्था गरिएको छ । कर्मचारीहरूले मोबाइल बैंकिङमार्फत महसुल बुझाउने तरिकाबारे ग्राहकहरुलाई सहजीकरणसमेत गर्दै आएका छन् ।
हाल तुलसीपुर वितरण केन्द्रअन्तर्गत ५६ हजार ग्राहक रहेकामा करिब २५ प्रतिशतले मात्रै अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।
उता लमही वितरण केन्द्रअन्तर्गत सञ्चालित भालुवाङ महसुल काउन्टर आगामी जेठ १ गतेदेखि भौतिक रूपमा बन्द गरिने भएको छ । त्यसैगरी लमही वितरण केन्द्रको मुख्य काउन्टर सेवा पनि आगामी साउन १ गतेदेखि पूर्ण रूपमा बन्द गरिने तयारी गरिएको छ ।
लमही वितरण केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालले भालुवाङ र लमही दुवै स्थानका काउन्टर सेवा क्रमशः बन्द गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार केन्द्रअन्तर्गत रहेका ४५ हजार ग्राहकहरूमध्ये करिब ७० प्रतिशतले पहिलेदेखि नै अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् । बाँकी उपभोक्तालाई पनि डिजिटल भुक्तानी प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले काउन्टर सेवा बन्द गर्न लागिएको उहाँको भनाइ छ ।
डिजिटल माध्यमबाट महसुल तिर्न समस्या परे कर्मचारीले आवश्यक सहयोग गर्ने बताउँदै उहाँले इ–सेवा, खल्ती, फोन–पे लगायत विभिन्न मोबाइल वालेट तथा बैंकिङ सेवामार्फत सहज रूपमा विद्युत् महसुल भुक्तानी गर्न सकिने जानकारी दिनुभयो ।
यसैबीच घोराही वितरण केन्द्रले पनि निकट भविष्यमा भौतिक रूपमा महसुल सङ्कलन गर्ने काउन्टर बन्द गरिने जनाएको छ । केन्द्रका इन्जिनियर नन्दलाल शर्माका अनुसार नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल विनियमावली, २०७८ को नियम ४ अनुसार बिलिङ प्रणालीलाई क्रमशः स्वचालित प्रविधिमा आधारित बनाउनुपर्ने व्यवस्था भएकाले डिजिटल प्रणाली लागू गर्न लागिएको हो ।
उहाँले काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले मोबाइल वालेट तथा विभिन्न बैंकिङ सेवामार्फत जुनसुकै समयमा डिजिटल रूपमा विद्युत् महसुल भुक्तानी गर्न सक्ने बताउनुभयो ।















