२०८३ जेष्ठ ११ गते सोमवार

खोलामा जेसिभीले खन्ने क्रममा शंकास्पद वस्तु फेला

रोल्पा । रोल्पामा जेसिभीले खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ । परिवर्तन गाउँपालिका वडा नम्बर ३ बागमारास्थित पाछावाङ खोला किनारमा काम गर्ने क्रममा दुईवटा तार निस्किएको शंकास्पद वस्तु फेला परेको हो ।

खोलामा जाली बाँध्नका लागि जेसिभीले खन्ने क्रममा मंगलबार बिहान १० बजेतिर फलामको सकेट जस्तो देखिने शंकास्पद वस्तु फेला परेको रोल्पा प्रहरीले जनाएको छ ।

खोलामा शंकास्पद वस्तु फेला परेको जानकारी पाउनासाथ प्रहरी चौकी बागमारा, रोल्पाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले घटनास्थलमा पुगी जाँचबुझ गर्दा फलामको सकेट जस्तो देखिने र दुईवटा तार समेत निस्किएको अवस्थामा उक्त वस्तु फेला परेको पुष्टि गरेको छ ।

शंकास्पद वस्तु भेटिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरी सुरक्षित राखेको छ । उक्त वस्तु बम वा अन्य कुनै विस्फोटक पदार्थ हुन सक्ने आशंका गरिएको छ । यसबारे थप अनुसन्धान र डिस्पोजलका लागि सम्बन्धित निकायमा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस