तुलसीपुर । दाङको तुलसीपुरमा एक महिला घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका अन्दाजी ५९ वर्षीया जगनी चौधरी हिजो सोमबार बेलुकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार गएराति करिब पौने ७ बजेतिर घरदेखि करिब १०० मिटर टाढा रहेको बारीमा चौधरी मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोली झिकाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान पूरा गरी आज बिहान सवा १० बजे शव उठाइएको हो । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















