२०८३ जेष्ठ १२ गते मङ्गलवार

माध्यमिक विद्यालय अस्वारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको माध्यमिक विद्यालय अस्वाराका विद्यार्थीहरूलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरको सहयोगमा विद्यालयमा अध्ययनरत ४० जना विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई उक्त सामग्री प्रदान गरिएको हो ।

अस्पतालले विद्यार्थी र अभिभावकहरूलाई एकै ठाउँमा राखेर झोला, कापी, पेन्सिलका साथै स्वास्थ्य सचेतनाका लागि ब्रस र मन्जन समेत उपलब्ध गराएको छ । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन् ।

सामग्री वितरण कार्यक्रमकै अवसरमा राप्ती लाईफ केयर हस्पिटल र विद्यालयबीच एक महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकहरूले अस्पतालमा उपचार गराउँदा ओपिडी र इमरजेन्सी टिकट पूर्ण रूपमा निःशुल्क पाउनेछन् ।

यस्तै, विद्यार्थी, शिक्षक र अभिभावकहरूले अस्पतालका अन्य स्वास्थ्य सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालले बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्नुभयो । ‘विद्यार्थी भनेको काँचो माटो हुन्, उनीहरूलाई जस्तो आकार दियो त्यस्तै बन्छन् ।’ उहाँले भन्नुभयो–‘ अस्पतालको तर्फबाट प्रदान गरिएको यो सामग्रीलाई मायाको चिनो स्वरूप स्वीकार गर्न आग्रह गर्दछु । राप्ती लाईफ केयर हस्पिटलले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिनेछ ।’

विद्यालयका प्रधानाध्यापक निमकान्त रेग्मीले शैक्षिक सामग्री सहयोग र स्वास्थ्य सेवामा भएको छुटको सम्झौताले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई ठुलो राहत मिल्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक निमकान्त रेग्मीको अध्यक्षतामा तथा राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन शिक्षक दिपक वलीले गर्नुभएको हो । कार्यक्रममा समाजसेवी एनबि खड्का र दुर्गा डाँगीको सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस