दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले हिजो सोमबार राति करिब पौने १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–७ झुमरे क्षेत्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय पवित्र डाँगी, २६ वर्षीय गोविन्द बुढा मगर, तुलसीपुर–७ का ३० वर्षीय कमल केसी र २७ वर्षीय रिगल महतरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट प्रहरीले १० ग्राम १९० मिलिग्राम ब्राउन सुगर, आठ थान मोबाइल फोन र नगद तीन हजार ८ सय ४५ रुपियाँ बरामद गरेको छ ।

लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरकोठामा खानतलासी गर्दा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको डिएसपी बोहराले जानकारी दिनुभयो ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।


















