२०८३ साउन ६ गते बुधवार

दाङमा ५ हजार बढीको परीक्षण गर्दा ६ सय ५० जनामा सिकलसेलको लक्षण


दाङ ।
दाङमा पाँच हजार बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शङ्कास्पद बिरामी फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना सङ्कलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शङ्कास्पद छ सय ५० जना बिरामी भेटिएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्याथोलोजिस्ट जेनिस छत्कुलीले प्रतिष्ठानले सञ्चालन गरेको सिकलसेल एनेमिया स्क्रिनिङ कार्यक्रममा परीक्षण गरिएका पाँच हजार ७० मध्ये छ सय ७० जनामा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी दिनुभयो ।

उहाका अनुसार प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा सञ्चालन गरेको शिविरबाट सङ्कलन गरिएको नमुना परीक्षणबाट सिकलसेल र थालसेमियाको जोखिम अझै चुनौतीपूर्ण रहेको छ ।

शिविरका क्रममा तीन हजार एक सय ६१ जना महिला र एक हजार नौ सय नौ जना पुरुष गरी पाँच हजार ७० जनामा परीक्षण गर्दा चार हजार चार सय २० जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने छ सय ५० जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको छ ।

परीक्षण गरिएकामध्ये ३३ जनामा सिकलसेल डिजिट, तीन सय ४७ जनामा सिकलसेल ट्रेट, तीन जनामा बिटा थालसेमिया मेजर, एक सय ५७ जनामा बिटा थालसेमिया ट्रेट, ५९ जनामा सिकलसेल बिटा थालासेमिया ट्रेट र ५१ जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरियन्ट फेला परेको हो ।

पाँच हजार नागरिकमा सिकलसेल एनेमिया परीक्षण गर्ने उद्देश्य अनुसार प्रतिष्ठानले चालु आर्थिक वर्षमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय तीन जना, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरबाट एक हजार पाँच सय २७ जना, माध्यमिक विद्यालय सौँडियारबाट सात सय ५१ जनामा परिक्षण गरिएको थियो ।

यस्तै कोठरी स्वास्थ्यचौकीबाट चार सय ९८ जना, राप्ती आधारभूत अस्पताल सिसहनियामा पाँच सय ६३ जना, दंगीशरण गाउँपालिकाको स्वास्थ्यचौकीमा चार सय ३२ जना, स्वास्थ्यचौकी झिङ्नी र माध्यमिक विद्यालय झिङ्नीबाट दुई सय ७७ जना र मानपुरमा रहेको दीपेन्द्र माध्यमिक विद्यालयबाट तीन सय १९ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस