२०८३ साउन १८ गते सोमवार

टरिगाउँ एयरपोर्टबारे पूर्वमेयर घनश्याम पाण्डेको स्पष्टोक्ति : ‘इच्छाशक्ति भए सञ्चालन सम्भव छ’

दाङ । तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर एवं नेकपा (एमाले) का नेता घनश्याम पाण्डेले टरिगाउँ विमानस्थलको विषयमा निराशा फैलाउनुभन्दा साझा प्रतिबद्धता र सकारात्मक पहलका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका विषयमा राजनीतिक दलका नेताहरूबीच आरोप–प्रत्यारोप चलिरहेका बेला पूर्वमेयर पाण्डेले आफ्नो धारणा सार्वजनिक गर्दै इच्छाशक्ति, समन्वय र पहल भए विमानस्थल सञ्चालन र स्तरोन्नति पूर्ण रूपमा सम्भव रहेको दाबी गर्नुभएको हो ।

उहाँले सामाजिक संजाल फेसबुकमा भन्नुभएको छ–‘म तुलसीपुर उपमहानगरपालिकाको प्रमुख हुँदा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी साना ’ट्विन–अटर’ जहाज दैनिक दुई पटकसम्म उडान गर्न सफल भएका थियौँ । यसले इच्छाशक्ति र पहल भए टरिगाउँ विमानस्थल सञ्चालन गर्न सकिन्छ भन्ने कुरा व्यवहारमै प्रमाणित गरिसकेको छ ।’

आफ्नो पालामा विमानस्थल सञ्चालनका लागि इन्धन डिपो स्थापना, टर्मिनल भवन निर्माण लगायतका कार्यहरू सम्पन्न भएको उल्लेख गर्दै उहाँले विभिन्न प्राविधिक अध्ययनहरूले पनि जग्गा विस्तारको सम्भावना देखाएको स्पष्ट पार्नुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि छेउमा रहेको सामुदायिक बस्तीको व्यवस्थापन, कपास विकास समितिको जग्गा र महेन्द्र माध्यमिक विद्यालयसँग जोडिएको क्षेत्रलाई समेटेर विस्तार गर्न सकिने उहाँको भनाइ छ । राज्यले आवश्यक निर्णय र लगानी गरेमा यी विषयहरू सहजै समाधान हुने उहाँले बताउनुभयो ।

आवश्यक पूर्वाधार विस्तार र मापदण्ड पूरा भएपछि भविष्यमा ७२ सिट क्षमतासम्मका जहाज सञ्चालन गर्न सकिने लक्ष्य हासिल हुनेमा आफू विश्वस्त रहेको पाण्डेले बताउनुभयो ।

उहाँले टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि एमाले हिजो पनि प्रतिबद्ध रहेको, आज पनि रहेको र भोलि पनि रहने स्पष्ट पार्दै आवश्यक परे आफ्नो अनुभव, सुझाव र सहयोग सधैँ उपलब्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस