२०८३ साउन २० गते बुधवार

सरकार असफलताको बाटोतिर गइरहेको छ : शंकर पोखरेल

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार असफलताको बाटोतर्फ गइरहेको बताउनुभएको छ । उहाँले एक सय दिनमा सरकारले केहि गर्न नसकेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले शुरुमा सरकारले राम्रो काम गर्ने अपेक्षा नागरिकले गरेपनि १०० दिन पूरा हुँदा सरकार असफलताको बाटोमा गएको बताउनुभयो ।

‘सपना ठुला–ठुला बाँडेका थिए । एक सय दिनमा काम गर्ने प्रतिवद्धता सार्वजनिक गरेका थिए, यसो हुँदा धेरैलाई लागेको थियो, यिनिहरु तयारीसहित रहिछन् है भन्ने धारणा बनेको थियो ।’ उहाँले भन्नुभयो–‘तर सय बुँदे प्रतिवद्धता सय दिनभित्र पूरा गर्न नसक्दा उनिहरु असफलतातर्फ उन्मूख छन् ।’

उहाँले अहिलेको सरकार इतिहासकै कमजोर सरकार भएको आरोप लगाउनुभयो । ‘बालेन्द्र नेतृत्वको सरकार इतिहासकै कमजोर सरकार हो, त्यो कामको परिणामले बताउँछ ।’ पोखरेलले भन्नुभयो–‘अपेक्षा ठुला भए, तर डेलिभरी दिन सकेन, त्यसैले अहिलेको सरकारले बिगतका सरकारभन्दा धेरै कमजोर सावित भएको छ ।’

भाषणको अधिकांश समय सरकारका गतिविधिमा खर्चेका महासचिव पोखरेलले अहिलेको सरकारबाट नागरिकले महंगी पाएको तर अरु केहि नपाएको बताउनुभयो । ‘बिगतमा मूल्यवृद्धि ४ प्रतिशतभन्दा कम थियो, तर अहिले मूल्यवृद्धि ५ प्रतिशतभन्दा धेरै भएको छ ।’–उहाँले भन्नुभयो–‘जनताले के पाए भन्दाखेरी, नयाँ सरकार बनाएपछि जनताले मूल्यवृद्धि पाए ।’

उहाँले सरकारले गरिबका विपक्षमा बजेट ल्याएको बताउनुभयो । बिजुलीमा भ्याट लगाउँदा विपन्न नागरिक सबैभन्दा बढी मारमा परेको उहाँको भनाई छ । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव बसन्त परियारले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस