२०८३ भाद्र ३० गते मङ्गलवार

तुलसीपुरमा बसाइँसराइ गरी आउने क्रम बढ्दो


दाङ । भौतिक सुख–सुविधाको खोजी, रोजगारी, शिक्षा र स्वास्थ्य उपचारजस्ता कारणले गाउँबाट बजारतर्फ बसाइँ सर्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाइँसराइ गरी आउनेको संख्या निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको पञ्जिकरण शाखाका अनुसार बितेको आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ८ सय ३५ घरपरिवारका २ हजार ७ सय ९७ जना तुलसीपुरमा बसाइँसराइ गरी आएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४ सय १५ जना बढी हो ।

आर्थिक वर्ष २०८१/०८२ मा ७ सय २४ घरपरिवारका २ हजार ३ सय ८२ जना तुलसीपुरमा बसाइँसराइ गरी आएका थिए । एक वर्षमै बसाइँसराइ गरी आउनेको संख्या बढ्नुले तुलसीपुर रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा–सुविधाका लागि आकर्षणको केन्द्र बन्दै गएको देखिन्छ ।

पञ्जिकरण शाखा प्रमुख यम नारायण सापकोटाका अनुसार तुलसीपुरमा बसाइँसराइ गरी आउनेको तुलनामा तुलसीपुरबाट अन्यत्र जानेको संख्या कम छ । आर्थिक वर्ष २०८२/०८३ मा ४ सय ९ घरपरिवारका १ हजार ३ सय १७ जना अन्यत्र बसाइँसराइ गरी गएका छन् । अघिल्लो आर्थिक वर्षमा भने ३ सय ६६ घरपरिवारका १ हजार ७७ जना तुलसीपुरबाट अन्यत्र बसाइँसराइ गरी गएका थिए ।

तुलसीपुरमा बसाइँसराइ गरी आउने र जानेबीचको अन्तर निरन्तर बढ्दै गएको देखिएको छ । गाउँ तथा पहाडी क्षेत्रबाट बजारतर्फ मानिस आउने क्रम बढ्दा तुलसीपुरको जनसंख्या र सेवा–सुविधाको मागसमेत बढिरहेको छ ।

अनियन्त्रित बसाइँसराइले चुनौती थपिरहेको छ । जनसंख्या बढ्दै जाँदा खानेपानी, सडक, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सार्वजनिक सेवामा चाप बढ्छ । त्यसैगरी घर तथा भवन निर्माण बढ्दा खेतीयोग्य जमिन घट्ने, अव्यवस्थित शहरीकरण बढ्ने र वातावरणमा समेत असर पर्न सक्ने जोखिम हुन्छ ।

अर्कोतर्फ गाउँबाट ठूलो संख्यामा मानिस बजारतर्फ सर्दा गाउँमा कृषि तथा अन्य उत्पादनमूलक काम प्रभावित हुन्छ । गाउँमै उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सके मात्रै बाध्यात्मक बसाइँसराइ कम गर्न सकिने सरोकारवालाहरूको भनाइ छ । स्थानीयस्तरमै कृषि, पशुपालन, पर्यटन, साना उद्योग तथा उद्यमशीलताको विकास गर्न सके गाउँबाट बजारतर्फ हुने बसाइँसराइलाई केही हदसम्म नियन्त्रण गर्न सकिन जानकारहरु बताउँछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस