दाङ । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साधारणसभा पाँच दिनसम्म सञ्चालन गर्ने भएको छ ।
संस्थाले शेयर सदस्यहरूको सहजताका लागि विभिन्न वडा तथा टोललाई समेटेर पाँच दिनसम्म छुट्टाछुट्टै स्थानमा २०औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।
संस्थाको २०औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गतेदेखि ११ गतेसम्म विभिन्न इकाइमा सञ्चालन हुने संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभएको छ । संस्थामा ५ हजार बढी शेयर सदस्य रहेकाले शेयर सदस्यको पायक पर्ने केन्द्रमा विभिन्न मितिमा साधारण गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । साधारणसभा हरेक दिन बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा, आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन तथा बजेट, लेखापरीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनलगायतका विषयमा छलफल तथा निर्णय गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साधारणसभामा विनियम तथा कार्यविधि स्वीकृति तथा संशोधन, कोषमा रहेको रकमको वितरण, सहकारी एकीकरण प्रक्रिया, बाह्य ऋण तथा अनुदान लिने विषय, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक र कर्मचारीको दरबन्दी, नियुक्ति तथा सेवा सुविधा निर्धारणलगायतका प्रस्ताव साधारणसभामा पेश हुने छ ।
साधारणसभाको पहिलो दिन कात्तिक ७ गते संस्थाको प्राङ्गण तुलसीपुर–७, झुमरेमा सभा हुनेछ । उक्त दिन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २, ५, ६, ८ र ९ का शेयर सदस्य तथा वडा नम्बर ७ अन्तर्गत राजापुर, मोतिपुर, घडेरीडाँडा, तमाखे, खर्चवा, पातु, नयाँबस्ती, मनैयाडाँडा, झुमरे, शिवनगर र कारागारको उत्तर तथा पूर्व क्षेत्रका सबै सदस्य सहभागी हुने संस्थाका सचिव जीवराज अधिकारीले जानकारी दिनुभयो ।
कात्तिक ८ गते रक्षाचौरस्थित गुरुजजुर माध्यमिक विद्यालयमा साधारणसभा हुनेछ । उक्त दिन वडा नम्बर ३ का सबै सदस्य, वडा नम्बर ४ अन्तर्गत नयाँबस्ती, सुनौलीपुर, रक्षाचौर, मजुवा, आँखा अस्पताल, गणेश टोल, सिमरा टोल, मुलकोट, तरुले, लामीदमार, घोरानेटी र पडा तथा वडा नम्बर ७ अन्तर्गत माताकुटीदेखि नयागाउँसम्म जाने सडकको उत्तरतर्फका नयाँगाउँ, गणेशपुर, गौझेनी, श्रीगै र गनारी क्षेत्रका सबै सदस्य सहभागी हुनेछन् ।
कात्तिक ९ गते बनगाउँ स्कुलमा वडा नम्बर १०, ११, १२ र १३ का सबै सदस्यका लागि साधारणसभा सञ्चालन हुनेछ ।
यसैगरी कात्तिक १० गते कालाखोला मा.वि. कालाखोलामा वडा नम्बर ४ र ७ अन्तर्गत खाद्रे, सुकिदेह, गहतेरा, बनहरी, घुसेरी, बम्नई, प्रसेनी, बुढागाउँ, हलवार, बतासे, बायखोला, नवलपुर र कालाखोला तथा वडा नम्बर १६, १७, १८ र १९ अन्तर्गत चौवाखोलादेखि पश्चिमतर्फका सबै सदस्य सहभागी हुनेछन् ।
कात्तिक ११ गते जनकल्याण मा.वि. दुधरासमा साधारणसभा हुनेछ । उक्त दिन वडा नम्बर १४, १५, १६, १७, १८ र १९ अन्तर्गत चौवाखोलादेखि पूर्वतर्फका सबै सदस्य सहभागी हुने संस्थाले जनाएको छ ।
संस्थाका सचिव अधिकारीले साधारणसभामा पेश गर्नुपर्ने प्रस्ताव तथा सुझाव असोज १६ गतेभित्र कार्यालय समयमा दर्ता गराउन शेयर सदस्यलाई अनुरोध गर्नुभएको छ ।

























