दाङ । मध्यपूर्वमा जारी युद्धका कारण नेपालमा इन्धनको अभाव हुन सक्ने हल्ला फैलिएपछि तुलसीपुर क्षेत्रका बजारमा ग्याँस पसल र पेट्रोलपम्पको अनुगमन गरिएको छ ।
ईलाका प्रशासन कार्यालय तुलसीपुरको नेतृत्वमा तुलसीपुर उपमहानगरपालिका र नेपाल आयल निगमको समन्वयमा तुलसीपुर क्षेत्रका पेट्रोल पम्प र ग्याँस डिलरहरूको आकस्मिक अनुगमन गरिएको हो ।
सम्भावित कालोबजारी र जम्माखोरीलाई रोक्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको हो । ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्पराज पौडेलको नेतृत्वमा गएको टोलीले बजारका ८ वटा मुख्य ग्याँस पसल र पेट्रोल पम्पहरूको अवस्थाबारे जानकारी लिएको छ ।
अनुगमनका क्रममा बजारमा पेट्रोलियम पदार्थ आपुर्तिमा समस्या नभएको देखिएको छ । तर ग्याँसको आपूर्तिमा कमि हुँदा माग अनुसार ग्याँस पुर्याउन नसकिएको व्यवसायीले बताएका छन् ।
बजारमा आधा सिलिण्डर बिक्रि वितरण भइरहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख तथा प्रशासकीय अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले अभाव हुन सक्ने डरले उपभोक्ताले एकैपटक धेरै सञ्चिति गर्न खोज्दा बजारमा केही दबाब देखिएको भए पनि आपूर्ति शृङ्खला नियमित रहेको छ । उहाँले घरमा सञ्चिति नगर्न आम उपभोक्तालाई आग्रह गर्नुभएको छ ।
बजारका ८ वटा ग्याँस पसल, होटल र पेट्रोलपम्पमा अनुगमन गरिएको छ । अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय तुलसीपुरका हुमलाल न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका अधिकृत खेमकान्त पाण्डे, नेपाल आयल निगम तुलसीपुरका हेमराज रोकाय, नेत्र बहादुर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका शैलेन्द्र कुमार बुढाथोकी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि र नगर प्रहरीको पनि सहभागीता रहेको थियो ।



















