दाङ। लुम्बिनी प्रदेशमै पहिलोपटक इन्जिनियरिङसहित वैज्ञानिक तथा वैदिक वास्तु सेवा प्रदान गर्दै आएको प्राइम फेश इन्जिनियरिङले आफ्नो तेस्रो शाखा घोराहीमा पनि विस्तार गरेको छ।
शाखाको आज (आइतबार) एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीले शाखाको उद्घाटन गर्नुभएको हो।

घोराही शाखाको उद्घाटन गर्दै उपमेयर डिसीले पैसामुखी सेवाको भावना नराखी छिटो, छरितो र भरपर्दो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले व्यवसायिक मर्यादा, इमानदारिता र सामाजिक उत्तरदायित्वका आधारमा सेवा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नक्सादेखि निर्माणसम्म सम्पूर्ण वास्तुसहित सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले नयाँ शाखा विस्तार गरेको हो।
नक्सा डिजाइन, इन्जिनियरिङ सेवा, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन संरचना विश्लेषण, वैज्ञानिक वास्तु सेवा, वैदिक वास्तु परामर्श र वैङ्किङ मूल्याङ्कनलगायतका सेवा एकै स्थानमा उपलब्ध गराउने लक्ष्य राखिएको वास्तु कन्सल्टेन्ट तथा इन्जिनियर विक्रमबाबु केसीले जानकारी दिनुभयो।

इन्जिनियर केसीका अनुसार, संस्थामार्फत व्यक्तिगत वा संस्थागत भवन निर्माणको सुरुवातदेखि अन्तिम चरणसम्म सम्पूर्ण कार्य सम्पन्न गरी भवनको साँचोसहित हस्तान्तरण गर्ने सेवा पनि घोराहीबाट उपलब्ध गराइनेछ।
आधुनिक प्रविधि र परम्परागत ज्ञानको संयोजनमार्फत सेवा प्रवाह गर्दै आएको प्राइम फेशले भौगोलिक अवस्था, वातावरणीय प्रभाव र ऊर्जा सन्तुलनलाई ध्यानमा राखेर परामर्श प्रदान गर्ने बताइएको छ।
यसअघि दाङको तुलसीपुर र बाँकेको कोहोलपुरमा शाखा सञ्चालनमा ल्याइसकेको प्राइम फेश इन्जिनियरिङले अब घोराहीमार्फत दाङ तथा आसपासका सेवाग्राहीलाई अझ सहज र गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ।
तुलसीपुर–७ निवासी वास्तु कन्सल्टेन्ट तथा इन्जिनियर विक्रमबाबु केसी र इन्जिनियर सुर्यबहादुर थापाले सञ्चालन गर्नुभएको यो संस्थामा हाल ११ जना प्रत्यक्षरूपमा रोजगारीमा संलग्न छन्।













