२०८२ माघ २५ गते आइतवार

तुलसीपुरको नीति कार्यक्रम सार्वजनिक, स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन प्राथमिकतामा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । नगर प्रमुख खड्काले नीति कार्यक्रम प्रस्तुत गदै तुलसीपुर उपमहानगरपालिकामा ‘एक वडा, एक कृषि उत्पादन संकलन तथा प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताउनुभयो । नगर प्रमुख खड्काले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न वडास्तरीय हाटबजार सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनको बजारीकरणका लागि निश्चित स्थान तोकिनेछ भने बाह्य उत्पादनको आयातलाई निरुत्साहित गरिनेछ ।

यस्तै कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत अनुदान, करार खेती र बगर खेतीको प्रवद्र्धन, कृषि पकेट क्षेत्रको पहिचान र विस्तार, तथा हाटबजार र कृषि मेला सञ्चालन गरिने उल्लेख छ ।

पशुसेवातर्फ हाल सञ्चालनमा रहेका वडा नम्बर ३, १४ र १९ का पशुसेवा केन्द्रलाई प्रभावकारी बनाइनेछ । महामारी नियन्त्रणका लागि निःशुल्क खोप कार्यक्रम तथा कृषकलाई पशुपालनसम्बन्धी ज्ञान र सीप प्रदान गरिने कार्यक्रम सञ्चालन गरिनेछ ।

सहकारी क्षेत्रमा “सबल सहकारी, बढाउने छ रोजगारी” अभियानसंग जोडि सहकारी संस्थालाई स्थानिय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग, प्याकेजिङ, भण्डारण र बजारीकरणमा प्रोत्साहन गर्ने भनिएको छ । एक सहकारी एक उत्पादन नीतिलाई प्रथामिकताका साथ कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि विकास गुरुयोजना निर्माण गरिनेछ । एक वडा, एक पर्यटकीय स्थल अवधारणाअनुसार छिलिकोट, थरकोट, चमेरे गुफा, राप्ती शान्ति उद्यान, जन्तीढुङ्गा, गौरीगाउँ ताल, राधाकृष्ण मन्दिर लगायतका गन्तव्यहरू विकास गरिनेछन् । स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणका लागि तुलसी महिला नौमती बाजा समूह लगायतका परम्परागत बाजाहरूको प्रवद्र्धन गरिनेछ ।

शिक्षामा सबै बालबालिकालाई विद्यालय भित्र्याउने, किताबविहीन कक्षाको अवधारणा अनुसार सीपमूलक कार्यक्रम सञ्चालन गरिने योजना छ । खेलकुदतर्फ मेयर कप, राष्ट्रपति रनिङ शिल्ड, तथा वडा स्तरीय प्रतियोगिताहरू आयोजना गरिनेछ ।

स्वास्थ्य सेवालाई संविधानको मौलिक हकअनुसार सबै नागरिकसम्म पुर्‍याइनेछ । मेट्रो अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिनेछ भने अस्पताललाई स्थानीय स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको रूपमा विकास गरिनेछ । नसर्ने रोग रोकथामका लागि ‘मेयर स्वास्थ्य मुटु अभियान’ लागू गरिनेछ । किशोरी, आमा र युवती लक्षित यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

महिला सशक्तिकरणका लागि आर्थिक गतिविधिमा महिलाको सहभागिता बढाउने, हिंसाविरुद्ध सचेतना अभियान चलाउने र ‘स्मार्ट छोरी कार्यक्रम’लाई निरन्तरता दिइने पनि नगरको योजना रहेको छ ।

यस्तै आगामी वर्षका लागि नीति तथा कार्यक्रमा वातावरण संरक्षण, कृषि, शिक्षा र पर्यटन प्रवद्र्धनलाई समेटिएको छ । सार्वजनिक स्थलमा रहेका वरपीपल, सिमलगायतका रूखहरूको संरक्षणलाई पालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख खड्काले बताउनुभयो । सार्वजनिक स्थलमा एक हजार वरपिपलका बिरुवा रोप्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस