२०८२ असार २४ गते मङ्गलवार

दाङका स्थानीय सरकारले ल्याए, नौ अर्ब बढीको बजेट

दाङ। दाङका १० स्थानीय सरकारले नौ अर्ब ३५ करोड बढीको बजेट ल्याएका छन् । जुन चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढी हो । चालु आर्थिक वर्षमा दश स्थानीय तहले आठ अर्ब ९४ करोड ३४ लाख ५४ हजार १५८ रुपैंया बराबरको बजेट ल्याएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब बढीको बजेट ल्याएको छ । नगर उपप्रमुख स्यानी चौधरीले १७ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८ सय ५५ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३८१ बराबरको बजेट ल्याएको थियो । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगतभन्दा चालुखर्चतर्फ बढी बजेट बिनियोजन गरेको छ ।

उपमहानगरपालिकाले चालुतर्फ कुल बजेटको ६५ दशमलव ०८ प्रतिशत अर्थात १ अर्ब ३४ करोड ५१ लाख बिनियोजन गरेको छ । पुँजीगततर्फ ३२ दशमलव ९० अर्थात ६७ करोड ९९ लाख ९३ हजार ८५५ रुपैँया बिनियोजन गरेको नगर उपप्रमुख चौधरीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि विकास र पशुसेवातर्फ १/१ करोड बजेट बिनियोजन गरेको छ । यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद लगायतमा बजेट बिनियोजन गरेको उपप्रमुख चौधरीले बताउनुभयो । उपमहानगरपालिकाले एक घर एक रोजगार अभियान जस्ता महत्वाकांक्षि योजनाका लागि पनि बजेट बिनियोजन गरेको छ । तर कति बजेट भन्ने एकिनरुपमा उल्लेख गरिएको छैन् ।

यस्तै घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २९ करोड बढीको बजेट ल्याएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब २९ करोड २९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । उपमहानगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा उपप्रमुख हुमा कुमारी डिसीले बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी वर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।

यस्तै दंगीशरण गाउँआलिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड,११ लाख,४१ हजार रुपैया बरावरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । मङ्गलवार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो ।

यस्तै शान्तिनगर गाउँपालिकाले पनि आज नै आर्थिक वर्ष २०८२/०८३ को बजेट पनि सार्वजनिक गरेको छ । पालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले आगामी आर्थिक वर्षका लागि ४८ करोड ९८ लाख ५३ हजार ३ सय ३७ रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । जसमा चालु खर्चतर्फ कूल बजेटको ६६.२२ प्रतिशत र पूँजिगत खर्चतर्फ ३३.७८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

शिक्षालाई प्रवद्र्धन गर्न पालिकाले शान्तिनगर गाउँपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने विद्यार्थीमध्य कसैले चिकित्साशास्त्र (डाक्टर) तथा पाइलट अध्ययन गर्न चाहेमा पालिकाले निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिकाको सूचना तथा जानकारी प्रसारणका लागि सम्भाव्यता अध्ययन गरेर सामुदायिक एफएम रेडियो सञ्चालन गर्ने र स्वास्थ्यका क्षेत्रमा नेपालगञ्ज तथा काठमाडौंका अस्पतालहरुसँग सम्झौता गरेर शान्तिनगरबासीलाई विशेषज्ञ सेवासहित टेलिमेडिसिन सेवा उपलब्ध गराइने उल्लेख गरेको छ ।

यस्तै लमही नगरपालिकाले ८८ करोड ३१ लाख, गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख, राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख, बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख, राजपुर गाउँपालिकाले ६० करोड २४ लाख र बबई गाउँपालिकाले ५१ करोड ५६ लाखको बजेट ल्याएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस