सल्यान, २७ असार । सल्यानको कपुरकोट हाट बजारमा शुक्रबार तरकारीको भाउ घटबढ भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार अघिल्लो हाटबजारभन्दा आज टमाटरको मूल्य घटेको छ ।
अघिल्लो हाटबजार मंगलबार टमाटर प्रतिकेजी ४५ देखि ५० रुपैँयासम्ममा बिक्रि गरेका किसानले आज प्रतिकेजी ३५ देखि ४० रुपैँयासम्मा बिक्रि गरेका छन् ।
यस्तै फूलगोपी अघिल्लो हाटबजारमा प्रतिकेजी २५ रुपैैैँयामा बिक्रि गरेका किसानले आज प्रतिकेजी ३० देखि ३५ रुपैँयासम्ममा बिक्रि गरेका छन् । बन्दा गोपीको मूल्य भने यथावत रहेको छ । बन्दागोपी आज पनि प्रतिकेजी २० देखि २५ रुपैँयामा बिक्रि भएको छ ।
आजको हाटबजारमा भेडेखुर्सानीको भाउ पनि थोरै बढेको छ । कपुरकोट हाटबजारमा अघिल्लो पटक प्रतिकेजी ६० देखि ६५ रुपैँयामा प्रतिकेजी बिक्रि भएको भेडे खुर्सानी आज प्रतिकेजी ६५ देखि ७० रुपैँया सम्ममा बिक्रि भएको छ । यस्तै मोटो खुर्सानी प्रतिकेजी ३५ देखि ४० रुपैँयामा बिक्रि भएको छ भने मसिनो खुर्सानी प्रतिकेजी १०५ देखि ११० रुपैँयामा बिक्रि भएको छ ।
अघिल्लो हाटबजारमा मोटो खुर्सानी प्रतिकेजी ४५ रुपैँयामा बिक्रि भएको थियो । यस्तै मसिनो खुर्सानी प्रतिकेजी ६५ देखि ७० रुपैँयामा बिक्रि भएको हो । सिमी आज प्रतिकेजी ७० देखि ७५ रुपैँयासम्मा बिक्रि भएको छ । जुन गत हाटबजारमा ६० देखि ६५ रुपैँयामा बिक्रि भएको हो ।
कपुरकोटमा वर्षेनि करोडौँको तरकारी बिक्रि हुने गरेको छ । गत वर्ष पनि ५० करोड बढीको तरकारी बिक्रि भएको कृषि उपज बजार कपुरकोटका अध्यक्ष तिलक शर्माले बताउनुभयो । किसानले कपुरकोट हाटबजारमा हरेक हप्ताको मंगलबार र शुक्रबार तरकारी बिक्रि गर्ने गरेका छन् ।
कपुरकोटको तरकारीमा पछिल्लो समय विषादी पनि कम हुँदै गएको छ । किसानलाई पालिकास्तरबाट विषादी न्युनिकरणबारे किसानलाई सचेतना दिन थालेपछि तरकारीमा विषादी न्यूनिकरण भएको अध्यक्ष शर्माले बताउनुभयो ।













