२०८२ फाल्गुन २ गते शनिवार

नौ जना युवाले सामुहिक लगानीमा संचालनमा ल्याए, ड्रिम्स बेंक्वीट

दाङ। रोजगारीका लागि धेरै युवा बिदेश गइरहेका बेला केहि युवाले स्वदेशमै संभावना खोज्न थालेका छन् । तुलसीपुुरमा विभिन्न क्षेत्रमा क्रियाशिल नौ जना युवाले सामुहिक करिब तीन करोड लगानी गरेर ड्रिम्स बेंक्वीट एण्ड रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

तुलसीपुर–६ को रजौरामा संचालित बेंक्वीटको बुधबार उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले बेंक्वीटको उद्घाटन गर्नुभएको हो ।

नगरप्रमुख खड्काले तुलसीपुरलाई आर्थिक कारोबारमा चलायमान बनाउन होटेल क्षेत्रमा थपिएको लगानी सकारात्मक भएको बताउनुभयो । उहाँले तुलसीपुरलाई असुरक्षित सहर भन्ने भाष्य विकास भइरहेको बताउँदै आगामी दिनमा सुरक्षित सहर बनाउनेतर्फ लाग्ने बताउनुभयो ।

उहाँले तुलसीपुरमा रात्रिकालिन व्यवसाय संचालनका लागि आवश्यक ऐन कानुन बनाउन लागेको बताउनुभयो ।

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले रोजगारीको लागि युवा विदेश पलायन भइरहेको बेला स्वदेशमै रोजगारीको अवसर दिनेगरी गरिएको लगानी निकै सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले पनि रात्रिकालिन व्यवसाय संचालनका लागि राज्यले सुरक्षा दिनुपर्ने बताउनुभयो ।

संचालक समितिका अध्यक्ष भूपेन्द्र वलीले स्थानीय वस्तुको प्रवद्र्धन गर्ने गरी व्यवसाय संचालन गरिने बताउनुभयो । उहाँले ड्रिम्स बेंक्वीटका हरेक उत्पादनमा नेपालीपन झल्कने बताउनुभयो ।

म्यानेजिङ डाइरेक्टर पूर्णबिक्रम डाँगीले विवाह, पाटी, गोष्ठी, सेमिनार लगायतको स्तरिय सेवा दिने बताउनुभयो । उहाँले ड्रिम्स बेंक्वीट संचालनमा आएसंगै युवाले रोजगारीसमेत प्राप्त गरेको बताउनुभयो ।

संचालक समिति सदस्य बसन्त आचार्यले होटेल म्यानेजमेन्ट पढेका युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस