२०८२ माघ ५ गते सोमवार

दाङमा सामाजिक सुरक्षा भत्ताका लागि दुई अर्बभन्दा बढी खर्च

दाङ । दाङमा सामाजिक सुरक्षा भत्तामा दुई अर्बभन्दा बढी रकम खर्च हुने गरेको छ । बितेको आर्थिक वर्ष २०८१/८२ मा मात्रै दाङमा सामाजिक सुरक्षा भत्तामा २ अर्ब १७ करोडभन्दा बढी रकम खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार करिब ६० हजार लाभग्राहीका लागि उक्त रकम खर्च भएको हो ।

दाङका १० वटै पालिकामा अघिल्लो वर्ष सामाजिक सुरक्षा भत्ताका लागि २ अर्ब १८ करोड ८२ लाख १५ हजार २८० रुपैयाँ निकासा भएकोमा २ अर्ब १७ करोड ८७ लाख ७९ हजार ४४६ रुपैयाँ खर्च भएको छ । सोही अवधिमा ५९ हजार ६११ जना लाभग्राही रहेका थिए ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा सामाजिक सुरक्षा भत्ताका लागि २ अर्ब ११ करोड ९४ लाख २६ हजार १७६ रुपैयाँ बजेट निकासा भएकोमा ५८ हजार १६ जनामा २ अर्ब ९ करोड ४० लाख ३७ हजार ९०९ रुपैयाँ खर्च भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी देबिराम बस्यालका अनुसार लाभग्राहीको संख्याका आधारमा बजेट निर्धारण हुने भएकाले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षभन्दा बढी बजेट आएको हो ।

दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामार्फत नियमित रूपमा भत्ता वितरण हुँदै आएको छ । तीमध्ये सबैभन्दा धेरै सामाजिक सुरक्षा भत्ता घोराही उपमहानगरपालिकाले वितरण गर्दै आएको छ ।

घोराही उपमहानगरपालिकामा २०८१/८२ मा ६२ करोड २५ लाख १४ हजार ६८० रुपैयाँ निकासा भएकोमा १७ हजार २०४ लाभग्राहीलाई ६१ करोड ९८ लाख २२ हजार १४६ रुपैयाँ २२ पैसा वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा ५५ करोड १४ लाख ७८ हजार रुपैयाँ निकासा भई १५ हजार २१९ जनालाई ५५ करोड ९ लाख २१ हजार ५५९ रुपैयाँ वितरण गरिएको छ ।

लमही नगरपालिकामा १७ करोड ८२ लाख ३२ हजार ६८० रुपैयाँ निकासा भई ४ हजार ५९४ जनालाई १७ करोड ७० लाख ६० हजार ९११ रुपैयाँ वितरण गरिएको छ ।

दंगीशरण गाउँपालिकामा ९ करोड ५० लाख ६० हजार ८४० रुपैयाँ निकासा भई २ हजार ५२२ जनालाई ९ करोड ४० लाख २५ हजार ७३६ रुपैयाँ खर्च भएको छ ।

बबई गाउँपालिकामा ११ करोड ३६ लाख २२ हजार ६८० रुपैयाँ निकासा भएकोमा ३ हजार २५७ जनाका लागि ११ करोड २६ लाख ४२ हजार ४१५ रुपैयाँ खर्च भएको छ ।

शान्तिनगर गाउँपालिकामा ११ करोड ७९ लाख १८ हजार ६८० रुपैयाँ निकासा भएकोमा ३ हजार ३२८ जनाका लागि ११ करोड ७४ लाख ६६ हजार ५४७ रुपैयाँ ११ पैसा खर्च भएको छ ।

बंगलाचुली गाउँपालिकामा ९ करोड ११ लाख ९९ हजार ८४० रुपैयाँ निकासा भई २ हजार ५८८ जनालाई ९ करोड ५ लाख २० हजार ४७८ रुपैयाँ १० पैसा वितरण भएको छ ।

गढवा गाउँपालिकामा १४ करोड ९९ लाख ६७ हजार २०० रुपैयाँ निकासा भई ४ हजार १४५ जनालाई १४ करोड ९४ लाख ४४ हजार ८४४ रुपैयाँ खर्च भएको छ ।

राप्ती गाउँपालिकामा १७ करोड १० लाख ९४ हजार रुपैयाँ निकासा भएकोमा ४ हजार ३२४ जनालाई १७ करोड ४ लाख ७६ हजार २६१ रुपैयाँ खर्च भएको छ । राजपुर गाउँपालिकामा ८ करोड ७१ लाख २६ हजार ६८० रुपैयाँ निकासा भएकोमा २ हजार ३९० जनालाई ८ करोड ६३ लाख ९१ हजार ५५२ रुपैयाँ वितरण भएको छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, अति अशक्त, लोपोन्मुख जाति र सीमान्तकृत समुदायका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

यो भत्ता ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा सीमान्तकृत समुदायका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको जीवन निर्वाहको आधार बनेको छ । सरकारले २०५१ सालबाट ज्येष्ठ नागरिकलाई जीवन निर्वाहका लागि सहयोग पुर्‍याउने उद्देश्यसहित सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस