दाङ । दाङमा अब सरकारी सेवा हुलाकमार्फत घरदैलोमै उपलब्ध गराउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङबीच आज सरकारी सेवा (राहदानी) हुलाकमार्फत घरमै पुर्याउने सम्बन्धी समझदारी पत्र मा हस्ताक्षर भएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार सरकारी सेवाहरूलाई नागरिकमैत्री बनाउने उद्देश्यले हुलाक सेवाको आधुनिकीकरण गरी सरकारी सेवाको रुपमा विकास गर्ने, जस मार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगाएतका कागजातहरु घरमै पुर्याउने व्यवस्था लागू गर्न लागिएको जनाइएको छ ।
समझदारीअनुसार सेवाग्राहीले राहदानी लिन कार्यालयमा पटक–पटक धाउनुपर्ने झन्झट कम हुने, समय तथा खर्चको बचत हुने र छिटो, भरपर्दो तथा सुरक्षित रूपमा सेवा उपलब्ध गराइने अपेक्षा गरिएको छ । यसबाट सरकारी सेवाप्रति नागरिकको विश्वास अझ बढ्ने प्रशासनको विश्वास छ ।

जिल्ला प्रशासन कार्यालय दाङले हुलाकमार्फत वितरण गरिने राहदानीको सूची तथा सम्बन्धित विवरण हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ भने सेवाग्राहीबाट आवश्यक शुल्क बुझाएर प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ । हुलाक निर्देशनालय दाङ/हुलाक काउन्टर घोराहीले भने राहदानी सुरक्षित रूपमा सेवाग्राहीको घरमै पुर्याउने जिम्मेवारी लिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतले सहमती पत्रमा हस्ताक्षर गर्नुभएको छ । यो व्यवस्था लागू भएसँगै दाङका सेवाग्राहीलाई राहदानी प्राप्त गर्न थप सहज हुने भएको छ ।



















