२०८३ जेष्ठ ४ गते सोमवार

कपुरकोटको नीति तथा कार्यक्रम : बाँझो जमिन उपयोग गर्ने कृषकलाई प्रोत्साहन गर्ने नीति


सल्यान, ३० वैशाख ।
सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले १९ औं गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले ‘एक घर एक प्राङ्गारिक करेसावारी’ कार्यक्रमलाई निरन्तरता दिँदै कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने नीति लिएको छ । बाँझो जमिन उपयोग गर्ने कृषकलाई प्रोत्साहन गर्ने र साना सिँचाइ आयोजनामार्फत उत्पादन वृद्धिमा जोड दिइने उल्लेख छ ।

यस्तै कपुरकोट आधारभूत अस्पताललाई १५ शैयामा स्तरोन्नति गरी विशेषज्ञ सेवाहरू विस्तार गरिनेछ । ‘होम डेलिभरी शून्य’ अभियानलाई थप प्रभावकारी बनाउनुका साथै जेष्ठ नागरिक र विपन्न वर्गका लागि घरदैलोमै स्वास्थ्य परीक्षण सेवा पुर्‍याइनेछ ।

सामुदायिक विद्यालयहरूमा ’सुपर लर्निङ’ कक्षाहरू सञ्चालन गरिने र सूचना प्रविधि ल्याबको विस्तार गरिनेछ । वि.सं. २०८३ फाल्गुन मसान्तभित्र गाउँपालिकालाई ‘बालमैत्री स्थानीय तह’ घोषणा गर्ने लक्ष्यसहित शैक्षिक सुधारका कार्यक्रमहरू ल्याइएको छ ।

यस्तै ‘एक घर एक धारा’ अभियान अन्तर्गत स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिनेछ । ‘उज्यालो कपुरकोट अभियान’ मार्फत आगामी वर्षभित्र सबै वस्तीमा विद्युतीकरण सम्पन्न गर्ने र मुख्य ग्रामीण सडकहरूको बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने प्राथमिकता दिइएको छ ।

स्थानीय कला, संस्कृति र ऐतिहासिक गढीहरूको संरक्षण गर्दै कपुरकोटलाई पर्यटकीय हबको रूपमा विकास गर्ने गाउँपालिकाको निति छ । यस्तै परम्परागत चौतारी, पोखरी र सार्वजनिक स्थलहरूको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै श्रम संस्कृति प्रवद्र्धन अभियानमार्फत स्थानीय युवाहरूलाई रोजगारीमा जोडिनेछ । गाउँपालिकाका सेवाहरूलाई पूर्ण रूपमा डिजिटल बनाउँदै पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता छ ।

अध्यक्ष पुनले सिमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी योजनाहरू तय गरिएको बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस