प्यूठान । प्यूठानमा स्कुलबाट घर फर्किँदै गर्दा बगेर बेपत्ता मध्य दुबै दाजु भाइको शव फेला परेको छ ।
नौबहिनी गाउँपालिका–५ का ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री हिजो मंगलबार हिजो मंगलबार दिउँसो करिब ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा उनीहरू जोगी पनेरा खहरे खोला तर्ने प्रयास गर्दा बाढीले बगाएको थियो । बगेका दुवै बालकमध्ये भाइ विमलको शव हिजो मंगलबार साँझ नै फेला परेको थियो भने दाजु मिलनको शव आज बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
मृतक दुवै बालक नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालयका विद्यार्थी हुन् । विमल कक्षा १ मा र मिलन कक्षा ३ मा अध्ययनरत थिए । उनीहरू स्थानीय यामबहादुर खत्रीका छोरा हुन् ।
विद्यालयबाट घर फर्किरहेका दुई बालक खोलाले बगाएको जानकारी वडा सदस्य कुलबहादुर खत्रीले मंगलबार साँझ साढे ६ बजेतिर प्रहरीलाई गराउनुभएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबाङबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजीमा खटिएको थियो ।
घटनास्थल प्रहरी चौकी डार्मीबाट करिब ६ किलोमिटर उत्तरमा पर्छ । दुई नाबालक छोराको एकैसाथ मृत्यु भएपछि खत्री परिवार तथा स्थानीय समुदाय शोकमा डुबेको छ ।
केही समयअघि मात्रै छिमेकी जिल्ला रोल्पामा खहरे खोलामा आएको बाढीले विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको पनि बगेर मृत्यु भएको थियो ।



















