रुकुम पश्चिम । सानीभेरी नदीले बगाएर बेपत्ता भएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० का एक युवक मृत अवस्थामा फेला परेका छन् । स्थानीय अन्दाजी ३४ वर्षीय देव वलीको शव आज सानीभेरी गाउँपालिका–७ स्थित सहरेखोला नजिकै नदी किनारमा भेटिएको हो ।
गत साउन २२ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, भोटेमारास्थित सानीभेरी नदीमा जाल हालेर माछा मार्ने क्रममा वलीलाई नदीको कडा बहावले बगाएको थियो ।
बगाएलगत्तै खोजतलास जारी राखिएकामा घटनाको चार दिनपछि बगाएको स्थानभन्दा केही तल शव फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएसँगै आवश्यक कानुनी प्रक्रिया र पोष्टमार्टमका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





















