२०८३ मङ्सिर ७ गते सोमवार

जनकल्याण माविमा जाडोका पोसाक र शैक्षिक सामग्री वितरण


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयका ४२० जना विद्यार्थीलाई जाडोका पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

दक्षिण कोरियास्थित उम होङ गिल ह्युमन फाउन्डेसन ( UHGHF ) ले बिहीबार विद्यालयमा आयोजित एक समारोहबीच विद्यार्थीहरूलाई जाडोका पोसाक, कापी तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।

फाउन्डेसनले विद्यालयको पुस्तकालयका लागि पुस्तकसमेत उपलब्ध गराएको छ ।


कार्यक्रममा ७०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा नेपाल र दक्षिण कोरियाका अतिथिहरूको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर घर्तीको अध्यक्षता एवं त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा दक्षिण कोरियाको डेगु मेट्रोपोलिटन कार्यालयका पूर्व शिक्षा गभर्नर तथा क्याथोलिक विश्वविद्यालयका पूर्व अध्यक्ष उ डोङ गीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व शिक्षा गभर्नर उ डोङ गीले विद्यालय निर्माणदेखि हालसम्म संस्थाले गर्दै आएको सहयोगबारे चर्चा गर्दै विद्यालयको प्रगति देख्दा खुसी लागेको बताउनुभयो । उहाँले सामुदायिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

त्यस्तै, फाउन्डेसनका कार्यकारी निर्देशक क्याप्टेन उम होङ गिलले विद्यार्थीहरूलाई मेहनत र लगनशीलताका साथ आफ्नो लक्ष्य प्राप्त गर्न प्रेरित गर्नुभएको थियो ।

विद्यार्थी प्रतिनिधि प्रोमिस घर्ती मगरले सहयोगले विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनमा सकारात्मक प्रभाव पारेको भन्दै फाउन्डेसन र उ डोङ गीप्रति आभार व्यक्त गर्नुभयो ।

डेगु मेट्रोपोलिटन शिक्षा कार्यालयले सन् २०१६ देखि विद्यालयलाई सहयोग गर्दै आएको छ । उक्त सहयोगबाट विद्यालय भवन निर्माण सुरु भई सन् २०१८ मा सम्पन्न भएको थियो ।

त्यसयता पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर सहयोग हुँदै आएको फाउन्डेसनले जनाएको छ ।

सन् २००८ मा दक्षिण कोरियामा स्थापना भएको गैरनाफामूलक संस्था उम होङ गिल ह्युमन फाउन्डेसनले सन् २००९ देखि नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

फाउन्डेसनले हालसम्म नेपालका १९ वटा मानव विद्यालयलाई सहयोग गरिसकेको छ भने आगामी परियोजना कर्णाली प्रदेशको सुर्खेतबाट सुरु गर्ने तयारी गरेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस