२०८२ फाल्गुन ३० गते शनिवार

दोहोरो करको मारमा परेको अटो/रिक्सा चालकको गुनासो

दाङ। तुलसीपुरका अटो रिक्सा चालकले दोहोरो करको मारमा परेको गुनासो गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सूचिकृतको नाममा रकम असुल्न थालेपछि अटो चलाएर जिविको पार्जन गरिरहेकाहरुले मारमा परेको गुनासो गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले अटो रिक्सा सूचिकृत गर्न थालेको छ । सूचिकृतकालागि एक हजार पाँच सय राजश्व लिन थालेपछि भने अटो रिक्सा प्रालिहरुले नगर प्रमुख टिकाराम खड्कासंग भेटेर ध्यानाकर्षण गराएका छन् ।

तुलसीपुरमा क्रियाशिल पाँच वटा समितिका प्रमुख तथा प्रतिनिधिहरुले नगरप्रमुख खड्कासंग भेटेर ध्यानाकर्षण गरेका हुन् । उनीहरुले यसरी दोहोरो कर नलिन भनेका छन् ।

अटो रिक्साहरुले ११ हजार बढि कर यातायात कार्यालयमा बुझाउने गरेको भन्दै उपमहानगरपालिकामा पनि एक हजार पाँच सय रुपैँया लिदा दोहोरो मारमा परेको दाङ भ्याली यातायात प्रालिका कार्यालय प्रमुख महेन्द्र महराले बताउनुभयो ।

सवारी दर्ता तथा वार्षिक सवारी कर भनेर उपमहानगरपालिकाले पनि लिने र यातायातले पनि यही शीर्षकमा कर उठाउने गरेको उहाँको भनाई छ ।

उपमहानगरपालिकाले बनाएको अटो रिक्सा, इलेक्ट्रिक रिक्सा तथा टेम्पोको रुट इजाजत तथा ब्यबस्थापन सम्बन्धि कार्यविधि २०७९ बमोजिम संघ वा प्रदेशका जुनसुकै निकायमा दर्ता भएको भएमा छुट्टै कर नलाग्ने स्पस्ट लेखेको समेत उहाँले बताउनुभयो ।

नगर प्रमुख टिकाराम खड्काले अटो रिक्सालाई व्यवस्थित गर्न खोजेको र केही बाधा भएमा आगामी आर्थिक बर्षदेखि सहज बनाउने बताउनुभयो ।

तुलसीपुरमा दाङ भ्याली यातायात प्रालि, नमस्ते एकता यातायात प्रालि, पश्चिम छहरा यातायात, जनसेवा यातायात प्रालि, सिद्ध चमेरे गुफा यातायात प्रालि क्रियाशिल छन् । सबै प्रालिमा दुई हजारको हाराहारीमा अटो रिक्सा रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस