दाङ । कृषिलाई व्यावसायिक बनाउन कृषिको आधुनिकीकरण र किसानमैत्री नीति हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
दाङको तुलसीपुरमा निर्वाचन क्षेत्र लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिएका छन् । उनिहरुले किसानमैत्री नीति निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
सहभागिहरूले कृषिसम्बन्धी नीति तथा कार्यक्रम प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका हुन् । कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीले प्रतिफलमा आधारीत रकम करिब १ सयजना दुग्ध उत्पादक किसानहरुलाई उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले किसानलाई सन्तुष्ट बनाउने गरी मल अनुदानको रकम प्रत्यक्ष किसानको हातमा पुग्ने व्यवस्था गर्नुपर्ने र उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

पर्यावरणिय एवम् दिगो विकास केन्द्रका अध्यक्ष दिल्लीबहादुर रावतले नीति तथा कार्यक्रममा माटो परीक्षण अनिवार्य गर्नुपर्ने र मुक्त कमलहरी लक्षित कृषि कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारले रासायनिक मलको सट्टा अर्गानिक मलमा अनुदान दिनुपर्नेमा जोड दिनुभयो ।
किसान प्रदिप वली र कर्ण बहादुर वलीले कृषिमा आधुनिकीकरण हुनुपर्ने र वास्तविक किसानको पहिचान गरी लक्षित कार्यक्रम किसानसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । यस्तै अर्का किसान खुम बहादुर वलीले प्राविधिकहरूलाई किसानको खेत तथा फर्मसम्म पुग्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । साथै किसानलाई सीपमूलक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी बस्याल कृषि र्फका सञ्चालक ताराप्रसाद बस्यालले उत्पादन भण्डारणका लागि आवश्यक संरचना अभाव रहेको गुनासो गर्नुभएको थियो । विशेषगरी आलु लगायतका कृषि उत्पादनका लागि कोल्ड स्टोर नहुँदा समस्या भएको र स्थानीय उत्पादनले उचित बजार नपाएको उहाँको भनाई छ । सहभागिहरुले आगामी दिनमा प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँदा यस्ता व्यावहारिक समस्यालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिक र व्यवसायिक बनाउन स्थानीय तहले प्रदेश तथा संघसँग समन्वय गर्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले वास्तविक किसान पहिचान गरी लक्षित अनुदान, तालिम र प्रविधि हस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै उत्पादनसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नगरप्रमुख खड्काले प्रदेश सरकारले कोल्ड स्टोर (शीत भण्डार) को व्यवस्था गरे किसानलाई ठूलो राहत पुग्ने बताउनुभयो । साथै, सहकारीमार्फत किसानलाई उद्यममा जोड्नुपर्ने, किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने र पश्चिम क्षेत्रका पालिकाहरूमा विषादी परीक्षणका लागि ल्याव प्रयोगशालाको आवश्यकता रहेको बताउनुभयो ।
बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले ग्रामीण क्षेत्रमा कृषिको उच्च सम्भावना रहेको उल्लेख गर्दै किसानलाई प्राविधिक ज्ञान, मल तथा बीउबिजनको सहज उपलब्धता आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिँदै राज्यले कृषि र उद्योगमा परिवर्तन ल्याउने खालका नीति कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो । खत्रीले पर्याप्त बजेट अभावका कारण पालिकाहरूमा अपेक्षित काम हुन नसकेको र कृषि अझै परम्परागतमै सीमित रहेकाले आधुनिक प्रविधि अपनाए किसानलाई सहज हुने बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना एकाई लमहीका प्रमुख कोमल शाहीले कृषिको आधुनिकीकरणका लागि परियोजनामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । परियोजनाले दाङमा मकै सुपर जोन, मौरी जोन तथा उद्यमशीलता सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । साथै दाङमा चैते धान उत्पादन वृद्धि गर्ने योजना रहेको भए पनि दाङमा यसको खेती अझै अपेक्षित रूपमा विस्तार हुन नसकेको उहाँको भनाई छ ।
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले पालिका सरकार र किसानहरुले उठाएका मागहरु प्रदेश सरकारमा पठाउने जानकारी दिनुभयो । कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र बाँकेका प्रमुख श्रीधर ज्ञवालीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), कृषि ज्ञान केन्द्र दाङ र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा चार पालिकाका जनप्रतिनिधि, कृषक, सहकारी संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका प्रमुख डा. हरिनारायण प्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पशु अधिकृत कृष्ण न्यौपानेले गर्नुभएको हो ।















