दाङ । सहकारी क्षेत्रको दिगो विकास र प्रभावकारी व्यवस्थापनका लागि हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पाँच वर्षे रणनीतिक तथा व्यवसायिक योजना तर्जुमा कार्यशाला गरिएको छ ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र ग्रिन फाउन्डेसन नेपालको सहयोगमा सम्पन्न उक्त कार्यशालाले सहकारीको भविष्य दृष्टिकोण निर्माणमा उल्लेखनीय योगदान पुर्याउने सहभागीहरुले बताएका छन् ।
कार्यशालामा सहभागीहरूबीच सहकारीलाई कहाँ पुर्याउने, कस्तो बनाउने, कसरी प्रतिस्पर्धी बनाउने भन्ने विषयमा सघन र उद्देश्यपूर्ण छलफल गरिएको थियो। सहभागीहरूको सक्रिय संलग्नता र अनुभवले कार्यशालालाई अर्थपूर्ण र फलदायी बनाएको थियो ।
कार्यशालाको महत्वपूर्ण उपलब्धिका रूपमा पाँचवर्षे रणनीतिक तथा व्यवसायिक योजना निर्माणका लागि सहकारीको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, अन्य उपसमिति र विज्ञ व्यक्तिहरूको समिति गठन गरिएको छ ।
समितिले यही असार मसान्तभित्र योजना मस्यौदा तयार पार्ने लक्ष्य लिएको छ। तयार पारिएको मस्यौदालाई आगामी वार्षिक साधारण सभामा औपचारिक रूपमा अनुमोदन गरिनेछ, जसपछि योजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गरिनेछ ।
कार्यशालामा सहकारीको सुदृढता, पारदर्शिता, सेवा प्रभावकारिता, सदस्य संलग्नता, उद्यमशीलता विस्तार र नवप्रवर्तन जस्ता विषयहरूलाई रणनीतिक प्राथमिकताका रूपमा समावेश गरिने संकेत गरिएको छ ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सुरु भएको कार्यशालामा दंगीशरण गाउँपालिका निवर्तमान अध्यक्ष तथा सहकारीको कानुनी सल्लाहकार भागिराम चौधरी, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष विष्णु बहादुर के.सी, ग्रिन फाउन्डेसन नेपालका उधम विकास अधिकृत सुरेश कुमार रावत, ग्रिन फाउन्डेसन नेपालका कार्यक्रम संयोजक दिपक परियार, पत्रकार दिप्तिशिखा चौधरीले बोल्नुभएको थियोे ।
सहकारीको उपाध्यक्ष चक्र मिलन विकको उदेश्य माथि प्रकाश तथा स्वागत मन्तव्य बाट सुरु भएको कार्यशालाको सहजीकरण सहकारीको व्यवस्थापक सारदा चौधरीले गर्नुभएको थियोे ।










