२०८२ असोज २४ गते शुक्रवार

हाम्रो पहुँचको साधारणसभा चौथो दिन आज गुरुजजुर मावि रक्षाचौरमा, भोलि बनगाउँ स्कुलमा हुने

दाङ। दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज चौथो दिन गुरुजजुर मावि रक्षाचौरमा भएको छ ।

संस्थाले आज तुलसीपुर–४ अन्तर्गत पर्ने नयाँबस्ती, सुनौलीपुर, रक्षाचौर, मजुवा, आँखा अस्पताल, गणेश टोल, सिमरा टोल र वडा नम्बर ७ अन्तर्गत पर्ने माताकुटीदेखि नयाँगाँउसम्म जाने सडकको उत्तरतर्फका टोलहरु नयाँगाँउ, गणेशपुर, गौझेनी, श्रीगैं, गनारी क्षेत्रका सबै सदस्यहरुका लागि गुरुजजुर स्कुलमा साधारण सभा गरेको हो ।

सोमबारदेखि शुरु भएको १९ औँ वार्षिक साधारणसभा २६ गतेसम्म संचालन हुने छ । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा भइरहेको छ । साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । उहाँले संस्थाले यसवर्ष २ करोड १६ लाख ४४ हजार ५८१ खुद वचत गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यसैगरी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको हो । संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले प्रस्तुत गर्नुभएको हो ।

संस्थाका उपाध्यक्ष नमीकुमारी रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको छ । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र डिआर भण्डारीले गर्नुभएको हो । साधारण सभामा संस्थाका सल्लाहकार नारायणप्रसाद भण्डारीको अध्यक्षतमा तीन सदस्यीय अध्यक्ष मण्डल रहेको थियो । अध्यक्ष मण्डलको सदस्यहरुमा प्रणव कुमार खड्का र डिला कुमारी विश्वकर्मा रहनुभएको छ ।

साधारण सभामा संस्थाका सल्लाहकार ढुण्डीराज खनालले संस्था सबैको भएको र राम्रो र हाम्रो बनाउन सबैको सुझाव आवश्यक रहेको बताउनुभयो । साधारण सभामा शेयर सदस्यहरुले रासायनिक मलको पर्याप्तता हुनुपर्ने सुुझाव दिएका छन् ।
संस्थाको साधारणसभा भोलि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का सबै सदस्यका लागि तुलसीपुर–१० को बनगाउँ स्कुलमा हुने भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस