२०८२ माघ ७ गते बुधवार

हाम्रो पहुँच सहकारीको १९ औं साधारणसभा आज मावि कालाखोला स्कुलमा


दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाको आज छैटौं दिन मावि कालाखोलामा भएको छ ।

संस्थाले आज तुलसीपुर–४ र ७ का खाद्रे, सुकिदह, लामिदमार, घोरानेटी, गहतेरा, बनहरी, घुसेरी, बम्नै, पर्सेनी, बुढागाँउ, हलवार, बतासे, वायखोला, नवलपुर, कालाखोला, वडा नम्बर १७, १८ र १९ का चौवाखोला पश्चिमतर्फका सदस्यहरुका लागि तुलसीपुर–७ मा रहेको मावि कालाखोला स्कुलमा साधारणसभा गरेको हो ।

साधारणसभामा सहभागि सदस्यहरुले संस्थाले किसानहरुलाई समयमा मल उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए । सदस्य टिका पौडेलले प्रत्येक समूहमा रहेका महिलाहरुलाई उद्घोषण तालिमको व्यवस्था गर्न सुझाव दिनुभयो । त्यसैगरी ज्योति वलीले किसानहरूलाई थोरै थोरै भए पनि सबै सदस्यहरूलाई रासायनिक मल उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो ।

सदस्य इश्वरा पौडेलले सहकारीले किसानहरूलाई समयमै मल र बिउ उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सदस्य सीता बुढाथोकीले संस्थाले अहिलेसम्म गरेका कार्यहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने शुभकामना व्यक्त गर्नुभयो ।

साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सिमित स्रोत साधन र पुँजीबाट शुरु भएको संस्थाले अहिलेसम्म एक अर्ब बढीको कारोबार गरिसकेको बताउनुभयो ।

संस्थाले पाँच वटा ठुला व्यवसाय संचालन गरिरहेको बताउँदै उहाँले १ सय १० जनालाई प्रत्यक्ष रोजगारी दिएको र एक हजार दुई सय भन्दा बढीलाई स्वरोजगार प्रदान गरेको बताउनुभयो । यसैगरी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको हो ।

आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष विजय सुवेदी र संस्थाको लेखा परिक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका सदस्य तुलसीप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको हो ।

साधारण सभामा संस्थाका सल्लाहकार ढुण्डीराज खनालले सहकारी संस्था सबै शेयर सदस्यहरूको साथ र सहयोगका कारण आजको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले सहकारीमा आबद्ध सदस्यहरूले संस्थाको गतिविधिप्रति निरन्तर चासो र सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभामा संस्थाका सल्लाहकार नारायणप्रसाद भण्डारीको अध्यक्षतमा आज तीन सदस्यीय अध्यक्ष मण्डल रहेको थियो । अध्यक्ष मण्डलको सदस्यहरुमा दोर्ण घर्ती र टिका पौडेल रहनुभएको थियो ।

संस्थाका उपाध्यक्ष नमीकुमारी रेग्मीकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो । सोमबारदेखि शुरु भएको १९ औँ वार्षिक साधारणसभा २६ गतेसम्म संचालन हुने छ । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा भइरहेको छ ।

संस्थाले भोली अन्तिम दिन जनकल्याण मावि दुधरासमा साधारणसभा गर्ने भएको छ । भोली तुलसीपुर उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९ अन्तर्गत पर्ने चौवाखोलादेखि पूर्वका सबै सदस्यहरुलाई साधारणसभामा उपस्थित हुन संस्थाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस