दाङ । राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोख्ररेलले नेपालको सहकारी अभियान अन्य मुलुकहरूले समेत अध्ययन गर्ने थलोको रूपमा विकास हुँदै गएको बताउनुभयो ।
दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिकोत्सव समारोहलाई आज शुक्रबार सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोख्ररेलले यस्तो बताउनुभएको हो ।

साथै उहाँले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले उदाहरणिय काम गरेको बताउनुभयो । संस्थाले विभिन्न विभाग सञ्चालन गर्दै हालसम्म ११२ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहकारीको नीति, विधि र मूल्य–मान्यताअनुसार अगाडि बढ्न संस्थालाई आग्रह गर्नुभयो ।
फरक प्रसंगमा उहाँले हाल नेपालमा ३२ हजार ९ सय ६५ वटा सहकारी संस्था सञ्चालनमा रहेको र जसमा १ करोड ९ लाख ५० हजारभन्दा बढी सदस्य आबद्ध रहेको जानकारी दिनुभयो । सहकारी क्षेत्रमा १ खर्ब ४३ अर्बभन्दा बढी सेयर पुँजी संकलन भएको र ११ खर्ब २५ अर्बभन्दा बढी निक्षेप संकलन तथा ९ खर्ब २३ अर्बभन्दा बढी कर्जा प्रवाह भएको उहाँले बताउनुभयो । सहकारीमार्फत १ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको उहाँको भनाई छ । १० लाखभन्दा बढी व्यक्ति अप्रत्यक्ष रूपमा स्वरोजगार बनेको उहाँले जानकारी दिनुभयो ।
सहकारी संस्थाले खाद्य सुरक्षा, महिला सशक्तिकरण, वित्तीय साक्षरता तथा उत्पादनमूलक उद्योगमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले कृषि र व्यापार क्षेत्रमा उत्पादन भएका वस्तुहरू स्वदेशी बजारसँगै विदेशसम्म पुगिरहेको जानकारी दिनुभयो ।
पछिल्लो समय केही व्यक्तिले निजी स्वार्थका लागि सहकारीलाई बदनाम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले हाल देशभर ३० वटा सहकारी संस्था संकटग्रस्त घोषणा गरिएको जानकारी दिनुभयो । सहकारीको नीतिअनुसार नचलेर व्यक्तिगत प्रयोगका लागि रकम दुरुपयोग गर्दा समस्या आएको उहाँको भनाइ छ ।
देशभरका करिब ३२ हजार सहकारीमध्ये करिब ढाई सय जति सहकारीमा समस्या देखिएको भए पनि त्यसलाई व्यवस्थित रूपमा सुधार गर्न आफूहरू निरन्तर लागिरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।














