दाङ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले नगरको विकास, सुशासन र दैनिक जनजीवनसँग जोडिएका जल्दाबल्दा समस्याहरुमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्।
सोमबार गरिएको कार्यक्रममा सहभागीले विशेषगरी छाडा पशुचौपायाको व्यवस्थापन, विकास बजेटको प्रभावकारी खर्च र कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन माग गरेका छन् ।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरुले नगर क्षेत्रमा बढ्दो छाडा पशुचौपाया र भुस्याहा कुकुरको समस्याले सास्ती दिएको गुनासो पोखेका छन् । तुलसीपुर–७ गणेशपुरका डिल्लीराज भण्डारीले छाडा पशुका कारण किसानको बालीनालीमा ठुलो क्षति पुगिरहेको भन्दै यसको स्थायी समाधान खोज्न आग्रह गर्नुभयो ।
यस्तै, सुधिर केसीले नगरमा भुस्याहा कुकुरको बिगबिगी बढेकाले पैदलयात्री र बालबालिका असुरक्षित रहेको बताउँदै कुकुर व्यवस्थापनलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी बच्चुराम नेपालीले सरकारी भवनहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनुभयो । यस्तै, कार्यक्रममा सहभागी खेमराज विश्वकर्मा, खेतुप्रसाद भण्डारी, लोकमणी पन्थी, देवा डाँगी, पद्मा कँडेल लगायतले रासायनिक मलको सहज आपुर्ति हुनुपर्ने, राजश्व संकलनको दायरा बढाउनुपर्ने, प्लास्टिकको प्रयोग नियन्त्रण, फोहोर व्यवस्थापन, स्थानीयस्तरमा मल र बीउको उत्पादनमा वृद्धि, सूचना प्रणालीको व्यवस्थापन र विकास बजेटको खर्च गर्ने क्षमता बढाउनुपर्ने धारणा राखेका छन् ।
यस्तै ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई अझ सहज र झन्झटमुक्त बनाउन समेत उपमहानगरपालिकासंग माग गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीको जवाफ
नागरिकका प्रश्न र गुनासोको सम्बोधन गर्दै नगर प्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाले हाल दुईवटा गौशाला मार्फत पशु व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । तर, स्थानीय पशुभन्दा पनि बाहिरबाट ल्याएर छाडिने पशुहरुको व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।
नगर प्रमुख खड्काले छाडा कुकुर नियन्त्रणका लागि वडा–वडामा ‘कान्जीहाउस’ निर्माण गर्न आवश्यक रहेको र यसका लागि नागरिकको पनि साथ र सहयोग चाहिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले नगरका लोक कल्याणकारी सूचनाहरु प्रकाशन र प्रसारण गर्दा स्थानीय सञ्चारमाध्यमहरुलाई नै प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । यस्तै, कृषि शाखा प्रमुख कुलराज चौधरीले ‘जेन्जी आन्दोलन’का क्रममा किसानका विवरण रहेका फाइलहरु नष्ट भएकाले केही प्राविधिक समस्या आएको जानकारी दिँदै हाल किसानलाई सहुलियत दरमा बीउ वितरण गर्ने कार्य भइरहेको बताउनुभयो ।
कार्यक्रममा योजना शाखा प्रमुख रमा खड्काले चालु आर्थिक वर्षको छ महिनाको प्रगति समीक्षा प्रस्तुत गर्नुभएको हो । बागेश्वरी असल शासन क्लब बाँकेको प्राविधिक सहजीकरणमा कार्यक्रम भएको हो ।


















