दाङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि दाङको तुलसीपुरस्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (राफिकोल) ले आर्थिक सहयोग गरेको छ ।
सहकारीले बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५१ हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको थियो ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको सहकारीले जनाएको छ ।
सहकारीको भदौ १८ गते बसेको सञ्चालक समिति बैठकले यसवर्षको तीज विषेश खर्च कटौति गरेर बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त रकम राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।
राफिकोल महिला तथा युवा उपसमितिका सदस्य ऋषिराज भण्डारीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएकाले सहकारीको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

























